एकै दिन थपिए ११४ संक्रमित, नेपालमा संक्रमितको संख्या ८८६ पुग्यो, निको भएर फर्किए १८३ जना

काठमाडौं । देशभर आज एकै दिन एक सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या आठ सय ८६ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता विकास देवकाटाका अनुसार सङ्क्रमितमध्ये सात सय ९६ पुरुष र ९० महिला रहेका छन ।

संक्रमितमध्ये सबैभन्दा बढी प्रदेश नं ५ का छन् । सो प्रदेशका नौ जिल्लामा तीन सय ६५ जनामा सङ्क्रण पुष्टि भएको छ । सबैभन्दा कम सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा १७ जना सङ्क्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ का सात जिल्लामा एक सय तीन, प्रदेश नं २ का आठ जिल्लामा तीन सय २४, वाग्मती प्रदेशका ११ जिल्लामा ३९, गण्डकी प्रदेशको चार जिल्लामा १३ र कर्णाली प्रदेशको तीन जिल्लामा २५ सङ्क्रमित फेला परेका छन् । यससँगै कोरोना सङ्क्रमित फेला परेको जिल्ला ४७ पुगेको छ ।

निको भए १८३ जना
नेपालमा एक सय ८३ जना कोरोनाको सङ्क्रमणबाट मुक्त भएका छन । विभिन्न अस्पतालको ‘आइसोलेसन’मा उपचाररत उनीहरु कोरोनामुक्त भएर घर फर्किएका हुन । मन्त्रालयका अनुसार हालसम्म एक सय ४२ पुरुष र ४१ महिला अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा पिसिआर विधिमार्फत तीन हजार पाँच सय ८० नमूना परीक्षण गरिएको छ । त्यस्तै २४ घन्टामै आरडिटी विधिमार्फट दुई हजार तीन २० नमूना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । सरकारले हालसम्म पिसिआर विधिमार्फत ५८ हजार दुई सय ७७ र आरडिटी विधिद्वारा एक लाख दुई ८७ जनाको परीक्षण गरेको छ ।

देशभर बनाइएको क्वारेन्टिनमा हालसम्म ७० हजार तीन सय पाँच जना रहेका छन् । यस्तै विभिन्न अस्पतालको आइसोलेनसमा ६ सय ९९ जनाको उपचार भइरहेको छ । हालसम्म कोरोनाका कारण चार जनाले ज्यान गुमाएका छन् ।