आजको मौसम : यी भेगमा हुनेछ दिनभर वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विहानैबाट नेपालका अधिकांश स्थानमा मौसम सक्रिय छ।

मौसम विज्ञान विभागका अनुसार आज नेपालको पश्चिमी भागमा दिनभर बदली र वर्षा हुने छ । काठमाडौं उपत्यकामा भने बिहान पानी रोकिने र दिउँसो फेरि बादल लागेर वर्षा हुने पूर्वानुमान गरिएको छ ।

त्यसैले बाढी सूचना केन्द्रले पनि पश्चिमका जिल्लाहरुका नदीमा बहाव बढ्न सक्ने भन्दै सतर्क रहन सूचित गरेको छ ।

केन्द्रका अनुसार वर्षाका कारण हाल कास्की, गोरखा, तनहुँ, लमजुङ, धादिङ, नुवाकोट, काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा मध्यम वर्षा भइरहेको छ । थप वर्षा पनि हुन सक्ने र ससाना नदीमा बहाव बढ्न सक्ने भएकाले सतर्क रहन केन्द्रले आग्रह गरेको छ ।

अहिले पश्चिमी र स्थानीय वायुको प्रभाव छ । पूर्वी भूभागमा निम्न चापिय रेखा छ । त्यसैले काठमाडौं उपत्यकासहित पश्चिमी भूभागमा बदली र वर्षा भएको हो ।