प्रधानमन्त्रीसँगको भेटलाई अपब्याख्या गर्नु खेदजनकः काँग्रेस नेता साउद, अरुको आँगनमा नाचेका र बैशाखी टेकेकाहरुले नुनको सोझो गर्न पित पत्रकारिता गरेः भण्डारी

काठमाडौं । कांग्रेस युवा नेताद्वय एनपी साउद र चन्द्र भण्डारी प्रधानमन्त्री निवास बालुवाटार पुगेर गरेको भेटघाटलाई लिएर एक अनलाईन मिडियाले प्रसारित गरेको समाचारप्रति दुबै नेताले कडा आपत्ति जनाएका छन ।

बजेट आउनु अघि बुधबार दुबै नेता प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटर पुगेर आ-आफ्नो क्षेत्रको समस्या र सवालका विषयमा कुरा गरेको विषयलाई ओझेल पारेर ‘अनुमानकारिता’ गरेको भन्दै नेता साउदले आपत्ति जनाएका हुन ।

पूर्वमन्त्री समेत रहेका साउदले आफूहरुले विश्वमहामारीका रुपमा फैलिएको कोरोना संक्रमणबाट सिर्जित समस्या, त्यसको परीक्षण, व्यवस्थापन, सीमा समस्या र स्थानीय विकासका सवालमा छलफल गरे पनि एक अनलाइन मिडियाले अतिरञ्जित र कपोलकल्पित समाचार प्रकाशित गरेकोप्रति आपत्ति जनाएका छन ।

‘म र नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी प्रधानमन्त्रीसँग बालुवाटारमा बजेट, सुदूरपश्चिमलगायत अन्य स्थानमा कोरोना संक्रमणको खतरा, प्रवासबाट भित्रिने नेपाली नागरिकको परीक्षण, व्यवस्थापनको समस्या, सीमा तथा समसामयिक वस्तुस्थितिका बारेमा छलफलका लागि भेटघाट गर्न गएका थियौँ,’  उनले भने, ‘ही विषयलाई अपब्याख्या गरेर राजनीतिक चरित्र हत्या गर्ने कुत्सित मनसायले दुषित र भ्रमपूर्ण समाचार सम्प्रेषण गरेकोप्रति गहिरो दुःख लागेको छ ।’

नेता साउदले यस्तो पित पत्रकारिता र अनलाइनको दुरुपयोगतर्फ नियामक निकाय र सम्बन्धित सवैको ध्यानाकर्षण समेत गराएका छन । उनले पछिल्लो दिनमा सुदूरपश्चिम क्षेत्रमा एक सातामा करिब ४० हजारभन्दा बढी नेपाली दाजुभाइ भारतबाट स्वदेश भित्रिए पनि उनीहरुको परीक्षण हुन नसकेको, क्वारेन्टिन, आवास, खानपानको व्यवस्था हुन नसकेकोप्रति प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन भेटघाट गर्न पुगे पनि एक अनलाईनले ‘कल्पनै गर्न नसकिने’ कल्पना गरेर आफूहरुको राजनीतिक चरित्रमा ठेस पुर्याउने काम गरेकाले त्यस्तो पितपत्रकारिताले सिर्जना गरेको भ्रममा नरहन पनि सबैमा आग्रह गरेका छन ।

‘अरुको आँगनमा नाचेकाहरुको दुस्प्रचार हो’

प्रधानमन्त्रीसँग साउदसँगै भेटघाट गर्न पुगेका काँग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले देशको समसामयिक अवस्था र गुल्मीको विकासका लागि महत्वपूर्ण पटौति -खर्ज्याङ्- तमघास-वामी र खर्वाङ जोडने सडकका विषयमा आफूहरु प्रधानमन्त्रीलाई भेटन गएको भए पनि भेटघाटलाई लिएर एक अनलाईनले लेखेको समाचारप्रति निन्दा गरेका छन ।

उनले भनेका छन, ‘उक्त सडकमा अरबौं रुपैयाँ खर्च भैसकेको र पुलहरु पनि बनिसकेको अवस्थामा योजना आयोगले हटाएको हुँदा प्रधानमन्त्रीलाई भेट्नुबाहेक अरु विकल्प थिएन । त्यसका लागि काँग्रेसका नेता एनपी साउद र म प्रधानमन्त्रीलाई भेट्न गएका हौँ ।’

त्यहाँ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र इश्वर पोखरेल पनि भएको नेता भण्डारीले उल्लेख गर्दै भनेका छन, ‘आफ्नो क्षेत्रको विकासको सवाल, कोरोना समस्या र समसामयिक विषयको छलफललाई अतिरन्जित गरेर चरित्र हत्या गर्न खोज्नु निन्दनीय छ ।’

उनले आफूहरुलाई ‘नेकपामा प्रवेश गर्ने’ भन्दै समाचार प्रकाशित गरेको अनलाईनलाई लक्षित गर्दै भने , ‘अरुको आँगनमा नाचेका र बैसाखी टेकेकाहरुले आफ्नो नुनको सोझो गरिरहेका छन । को को, के के गरिरहेका छन ? साईबर क्राइम शाखाले पत्ता लगाउनेछ ।’

उनले जिम्मेवार भएर कलम चलाउन पनि आग्रह गरेका छन । ‘देश र प्रजातन्त्रको महत्व र दायित्व थाहा नभएका गैरजिम्मेवार साथीहरुलाई जिम्मेवार बनेर कलम चलाउन अनुरोध गर्दछु । अरुको आशिर्वादमा बाँच्नेलाई अरुको कुरा काट्ने बाहेक के काम हुन्छ र ?’  नेता भण्डारीले आफ्नो पार्टी काँग्रेसप्रतिको निष्ठा र राष्ट्रप्रेमप्रति बर्का भित्रबाट औंला ठडाउने र उठाउन लगाउनेहरुलाई राम्रोसंग चिनेको पनि जिकिर गरेका छन ।