नेकपाको सचिवालय बैठक, एमसीसीबारे छलफल हुँदै

काठमाडौं । बजेटमा एमसीसीसमेत समेटिएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढेपछि यसबारे छलफल गर्न अहिले नेकपाको सचिवालय बैठक बसेको छ । शनिबार बलुवाटामा बसेको बैठकमा बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डा युवराज खतिवडा र स्थायी कमिटी सदस्य भीमबहादुर रावललाई पनि आमन्त्रण गरिएको छ ।

वैठकमा एमसिसी कार्यदलले बनाएको रिपोर्टबारे छलफल गरेर आवश्यक निर्णय गर्ने तयारी भएको बताइएको छ । गएको माघमा नेकपाले एमसिसीबारे अध्ययन गर्न वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा कार्यदल बनाएको थियो । उक्त कार्यदलले यथास्थितिमा एमसिसी पारित गर्न नहुने सुझाव दिएको थियो ।

कार्यदलमा स्थायी समिति सदस्य एवम् परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली र अर्का स्थायी समिति सदस्य भीम रावल सदस्य छन् । सरकारले संसदबाट यसलाई पारित गर्ने तयारी गरे पनि विवाद चुलिएको हो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खना, भीम रावल लगायतका व्यक्तिहरु नै एमसीसी पास गर्न नहुने पक्षमा कडा रुपमा प्रस्तुत हुँदै आएका छन ।