शनिबार थपिए एक सय ८९ जना कोरोना संक्रमित, नेपालमा संक्रमितको संख्या १४ सय एक पुग्यो

काठमाडौं । नेपालमा एकै दिन एक सय ८९ जना कोरोना संक्रमित थपिएका छन । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ संक्रमितबारे जानकारी गराएको हो । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार एक सय ८५ पुरुष र चार जना महिलामा कोरोना पोजेटिभ पुष्टि भएको जानकारी दिएका हुन ।

मन्त्रालयका अनुसार आज थपिएका संक्रमितमा धनुषाका ७ जना, झापाका १, कपिलवस्तुका ७७, पाटनकी १ महिला, महोत्तरीका ४ पुरुष, रौतहटका ६ पुरुष, सर्लाहीका १७ जना पुरुष र सिरहाका ११ जना पुरुष छन् ।

त्यस्तै कपिलवस्तुका २९ जना पुरुष, सप्तरीका ९, दाङका ५ र कपिल्बस्तुका ३ जना पुरुष रहेका छन् । साथै नारायणी अस्पतालमा गरिएको परीक्षणमा ३ जनामा कोरोना पोजेटिभ आएको छ ।

बाराका १, पर्साका २ जना नयाँ संक्रमित थपिएका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १४ जनामा पोजेटिभ देखिएको छ । उनीहरू सबै दैलेखका हुन् । विराटनगरको कोसी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा २ जनामा पोजेटिभ देखिएका छन । उनीहरु दुवै संखुवासाभाका हुन् । योसँगै नेपालमा कुल संक्रमितको एक हजार चार सय एक पुगेको छ ।

आजसम्म कोरोना संक्रमित मध्ये दुई सय १९ जना उपचारपछि निको भएर घर गएका छन । नेपालमा हालसम्म कोरोनाबाट ६ जनाको मृत्यु भएको छ ।