परशुराममा १८ क्वारेन्टिन, ७०४ जनाको व्यवस्थापन, क्वारेन्टिनमा बसेकाहरु समाजिक काममा सक्रिय

डडेल्धुरा । कोरोना भाइरसको संक्रमणका कारण भारतमा रहेका नेपाली धमाधम स्वदेश फर्कन थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाले उनीहरुको उद्धार व्यवस्थापन तीव्र पारेको छ । नगरपालिकाले १२ वडामा रहेका विभिन्न १८ वटा विद्यालयमा क्वारेन्टिनको व्यवस्था गरेको छ ।

आइतबार मात्रै भारतबाट आएका ८८ जनाको उद्धार गरेपति परशुराम नगरपालिकाको क्वारेन्टाइनमा ७ सय ४ जना रहेको नगरप्रमुख भीमबहादुर साउदले अक्षरपाटीलाई जानकारी दिए । अझै गाउँबासीहरु आउने क्रम जारी भएकाले यो संख्या बढ्नसक्ने उनले बताए ।

बाहिर रहेका नगरबासी भित्रिने क्रम बढेपछि उनीहरुलाई क्वारेन्टिनमा राख्नुपर्ने, खानपान, आवश र स्वास्थ्यको ख्याल गर्नुपर्ने भएकाले नगरले सहयोगका लागि अपिल समेत गरेको छ । नगरले सहयोग गर्न ईच्छुकहरुका लागि नगरको प्रकोप व्यवस्थापन कोषको खातामा रकम जमा गर्न र जिन्सी सामान उपलब्ध गराउन चाहनेलाई नगरपालिकाको कार्यालय र वडा कार्यालयमा हस्तान्तरण गरिदिन नगरपालिकाले अपिल गरेको छ ।  बनाइएका क्वारेन्टिनको अवस्था, व्यवस्थापनबारे नगरप्रमुख साउदसहितको टोलीले अनुगमन समेत गरेको छ ।

विद्यालयको पर्खाल बनाउँदै क्वारेन्टिनमा बसेका युवा

विद्यालयमा निर्माण गरिको क्वारेन्टिनमा बसेका युवा रचनात्मक काममा लागेका छन । उनीहरु खाली बस्नुभन्दा सामाजिक दुरी कायम गरेर विद्यालयका पर्खाल निर्माणमा जुटेका हुन् । परशुराम नगरपालिका– ४ कटाल पोखरीमा रहेको शिव पार्वती माध्यमिक विद्यालयमा बनाइएको क्वारेन्टिनमा बसेका युवाहरुले विद्यालयको पर्खाल निर्माण सुरु गरेका हुन् । आफुहरुको शिक्षा लिएको विद्यालयमा भारतबाट फर्किँदा यो संकटमा आश्रय पाएको भन्दै उनीहरु पर्खाल र्निमाणमा जुटेको क्वारेन्टिनमा रहेका रामबहादुर बोहराले बताए ।

प्रकोप व्यवस्थापन कोषमा मेयरकै कम्पनीले दियो साढे दुई लाख
परशुराम नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नगर प्रमुख भीमबहादुर साउद संरक्षक रहेको राजेन्द्र निर्माण सेवा प्रालीले दुई लाख ५१ हजार सहयोग प्रदान गरेको छ । विश्वभर फैलिएको कोरोना भाइरसको त्रास नगरमा पनि बढिरहेकाले त्यसको नियन्त्रण र व्यवस्थापनमा सहयोग पुगोस भनेर प्रालीले उक्त रकम सहयोग गरेको हो ।