स्वदेश भित्रिनेलाई रेडक्रसको पानी, मास्क र सबुन

धनगढी । दैनिकजसो भारतबाट स्वदेश भित्रिने नेपालीलाई रेडक्रस सोसाइटी कैलालीले साबुन, पानी र मास्क वितरण गरेको छ । धनगढी १ नम्बर र २ नम्बर उपशाखामार्फत उक्त सामग्री वितरण गरिएको हो ।

धनगढी २ नम्बर उपशाखाले गौरीफन्टा नाकाबाट नेपाल फर्किने नेपालीहरुलाई पानी वितरण गरेको हो । कोरोना भाइरसका कारण यतिबेला सयौँ नेपाली भारतका विभिन्न स्थानबाट नेपाल भित्रिने क्रम जारी छ । यसरी भित्रिने नेपालीलाई उपशाखाले करिब १० हजार बोतल पानी वितरण गरेको जनाएको छ ।

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा र युनिसेफको आर्थिक सहयोगमा उपशाखाले दुई दिनमा १० हजार बोतल पानी वितरण गरेको उपशाखाका सचिव तेजबहादुर सिंहले जानकारी दिए ।

त्यसैगरी रेडक्रस सोसाइटी धनगढी १ नम्बर उपशाखाले धनगढी महानगरपालिका वडा नम्बर ९, १० र १२ मा निर्माण गरिएका क्वारेन्टिनमा रहेका मानिसहरुलाई मास्क तथा साबुन वितरण गरेको छ ।

उपशाखाले ३ वटा वडामा बनाइएका क्वारेन्टिनमा बसेका व्यक्तिहरुका लागि दुई सय ३३ मास्क र दुई सय १३ साबुन वितरण गरेको उपशाखाका सभापति धर्मराज जोशीले जानकारी दिए । कैलालीमा कारोना संक्रमण भएयता कैलाली शाखाले विभिन्न उपशाखा मार्फत राहत, सरसफाई, मास्क, पानी, साबुन, बाल्टी, झुललगायत उद्धार र व्यवस्थापनमा सहयोग गर्दै आएको कैलाली शाखाका सभापति उत्तम जोशीले बताए ।