प्राधिकरणमा दर्ता भएका ६ लाख ३५ हजार गुनासो फर्स्योट

काठमाडौं । लाभग्राहीमा समावेश गरियोस् भनी दर्ता भएका तथा विभिन्न चरणका सर्वेक्षणबाट संकलन गरिएका सम्पूर्ण गुनासो फस्र्योट गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

सबै माध्यम र चरणमा गरी प्राधिकरणको प्रणालीमा दर्ता भएका ६ लाख ३४ हजार नौ सय ७३ गुनासोका ेछिनोफानो गरेको जनाएको छ । ती सबै गुनासो सम्बोधनपछि जम्मा एक लाख ६ हजार चार सय ६५ पुनर्निर्माण लाभग्राही र ६७ हजार ६ सय ८१ गुनासोकर्ता प्रवलीकरण लाभग्राही कायम भएको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले जानकारी दिएका छन ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले निजी आवास पुनर्निर्माणमा गुनासो सम्बोधन कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन । उनले भने, ‘भग्राही हुन नसकेका कुनै गुनासोकर्तालाई अझै लाभग्राहीमा पर्नुपर्छ भन्ने लागेमा पुनरावेदन समितिमा निवदेन दिन सक्नुहुनेछ ।’

प्राधिकरणले गरेको सुरुवाती सर्वेक्षणबाट किटान गरेको लाभग्राही सूचीमा नाम नपरेको भन्दै गुनासा आउन थालेपछि पहिलो चरणमा अति प्रभावित १४ जिल्लामा २०७४ असार मसान्तसम्ममा गुनासो दर्ता खुल्ला गरिएको थियो । ती गुनासोको केन्द्रमा विश्लेषण गरी लाभग्राही एवं गैरलाभग्राही कायम गरिएको प्राधिकरणले जनाएको छ ।

२०७३ फागुनमा बसेको प्राधिकरण निर्देशक समिति बैठकले गैरलाभग्राहीहरुको पनि एकपटक स्थलगत परीक्षण गर्नुपर्ने निर्णय गरेपछि २०७४ साउनदेखि २०७४ कार्तिक २१ सम्म अति प्रभावित १४ जिल्लामा तीन सय ३२ इञ्जिनियर तथा त्यत्तिकै संख्यामा समाजिक परिचालकसहितको टोली खटाएर पुनः जाँच सर्वेक्षण २०७४ संचालन गरिएको थियो ।

त्यसक्रममा व्यापक संख्यामा नयाँ गुनासो दर्ता भएपछि सर्वेक्षण कार्य तोकिएको समयमा सम्पन्न हुन सकेको थिएन । उक्त सर्वेक्षण अन्तर्गत एक लाख २९ हजार चार सय १० गुनासोकर्ताको सर्वेक्षण सम्पन्न भएको थियो । संघीय संसदको निर्वाचनका कारण २०७४ कात्तिक अन्तिम सातामा सर्वेक्षण स्थगित भयो । निर्वाचनपछि स्थानीय तहका जनप्रतिनिधिहरुको आग्रहमा पुनः २०७४ मंसिर मसान्तसम्म अन्तिम पटक गुनासो दर्ता गर्ने समयसीमा निर्धारण भयो । जसअनुसारभूकम्प प्रभावित १८ जिल्लासमेत गरीथप एक लाख दुई हजार गुनासो दर्ता भए ।

ती गुनासोको २०७५ चैत्र १५ देखि २०७६ साउनसम्म दोस्रो पटक छुट तथा पुनः जाँच सर्वेक्षण संचालन गरिएको थियो । जसमा एक लाख ८८ हजारको स्थलगत सर्वेक्षण गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले शुरुमा २०७२ माघदेखि २०७४ बैशाखसम्म ३ चरणमा भूकम्प पीडितहरुको पहिचानका लागि भूकम्प प्रभावित आवास लगत संकलन कार्यक्रम संचालन गरेको थियो । यसअन्तर्गत अति प्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० र कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार दुई सय ३१ गरी कुल १० लाख ३७ हजार दुई सय ९१ घरपरिवारको सर्वेक्षण गरिएको थियो ।

उक्तसर्वेक्षणबाट प्राधिकरणले ७ लाख २६ हजार ७३८ पुनर्निर्माण लाभग्राही र १९ हजार आठ य ६६ प्रवलीकरण लाभग्राही पहिचान गरिएको थियो । गुनासो सुनुवाईमा प्राधिकरणले सूचना व्यवस्थापन प्रणालीको प्रयोग गरेको थियो ।

यस्ता गुनासोका लागि प्राधिकरणले पुनर्निर्माण सम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि निर्माण गरेको थियो । कार्यविधिअनुसार यस्ता गुनासो स्थानीय तहको गाउँपालिका/नगरपालिकातथा वडा कार्यालयहरुमा र प्राधिकरणका जिल्ला एवं केन्द्रीय निकायहरुमा दर्ता गर्ने व्यवस्था गरिएको थियो ।

सबै गुनासो सम्बोधन भएपछि कूल पुनर्निर्माण लाभग्राहीको संख्या ८ लाख ३१ हजार नौ सय ९४ पुगेको र प्रवलीकरण लाभग्राहीको संख्या ७७ हजार दुई सय ६४ पुगेको प्राधिकरणले जनाएको छ ।