काँग्रेस प्रवक्ता शर्माको प्रश्नः कसैको सनकमा देश चल्दै छ कि, यही हो कम्युनिष्ट समाजवाद ?

काठमाडौं । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले घोषणा गरेको लकडाउनको अवधिलाई सर्वोच्च अदालतले पनि शून्य समय भनेको बेला सरकारले भने कर तिर्न गरेको ताकेताप्रति विभिन्न क्षेत्रले आपत्ति जनाएका छन ।

प्रमुख प्रतिपक्षी दल काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विकास कोष खारेज गर्न साहस नराख्ने अनि ठप्प व्यावसायलाई कर ताकेता ? भन्दै प्र्रश्न गरेका छन ।

विभिन्न व्यापारिक घराना तथा व्यापारिक संगठनका अगुवाले आफूहरुलाई घरमा थुनेर राखेको अवस्थामा कहाँबाट पैसा ल्याएर कर तिर्ने ? भन्दै प्रश्न गरिरहेका बेला प्रतिपक्षी दल काँग्रेसका प्रवक्ता शर्माले जेठ २५ भित्र कर तिर्ने सरकारी आदेशको भद्र अवज्ञाको विकल्प नभएको बताएका छन ।

उनले सामाजिक सञ्जाल ट्वीटमा लेखेका छन, ‘गलैंचा, जिमखाना र यो ताकेता । सोध्न चाहन्छु कसैको व्यक्तिगत सनका देश चल्दै छ कि, यही हो कम्युनिष्ट समाजवादको आधारशिला ?’ प्रधानमन्त्रीलाई मेन्सन समेत गरेका छन ।

अरु देशले धेरैखाले राहत दिएका भए पनि हाम्रो देशले भने लकडउनकै अवस्थामा कर तिर्न तोकेता सूचना गरेको छ, यो कसरी सम्भव हुन्छ भन्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले मिडियामार्फत प्रश्न गरेका छन । तर सरकारले भने राहतको नाममा घरभाडा छुटको कुरा समेत बजेटमा सम्बोधन गरेको छैन ।