बुधबार थपिए २०१ नयाँ संक्रमित, नेपालमा कूल संक्रमितको संख्या २३ सय पुग्यो, थप एक जनाको मृत्यु

काठमाडौं । देशभर बुधबार थप दुई सय एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणमा उक्त पुष्टि भएको हो ।

तीमध्ये एक सय ७९ पुरुष र २२ जना महिला छन् । योसहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार तीन सय पुगेको छ । कोरोनाका कारण दोलाखाका ७६ वर्षीय पुरुषको उपचारका क्रममा बुधबार मृत्यु भएको मन्त्रालयले जनाएको छ । उनी जेठ १३ गते काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका लागि भर्ना भएका थिए । उनलाई ुहेमोराइजिक स्ट्रोकु देखिएपछि अप्रेसन गरिएको थियो ।

जेठ १५ गते स्वाब परीक्षणपछि कोरोना सङ्क्रमण देखिएपछि थप उपचारका लागि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । योसँगै नेपालमा कोरोनाका कारण निधन हुनेको सङ्ख्या नौ पुगेको मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

१२ जना निको भए
आजै १२ जना सङ्क्रमित व्यक्ति कोरोनालाई जितेर घर फर्किएका छन् । हालसम्म कोरोना सङ्क्रमण निको भएर घर फर्किनेको सङ्ख्या दुई सय ७८ पुगेको छ । पछिल्लो २४ घण्टामा मुलुकभर पिसिआर विधिबाट चार हजार नौ सय २४ र आरडिटी विधिबाट चार हजार ३४ परीक्षण गरिएको छ ।