देशभर कोरोना सङ्क्रमितको संख्या २६ सय नाघ्यो, थप एक जनाको मृत्युपछि कोरोना पुष्टि

काठमाडौं । आज देशभर थप तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभरका विभिन्न स्वास्थ्य प्रयोगशालामा गरिएको पछिल्लो परीक्षणले तीन सय ३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

ती मध्ये तीन सय १९ पुरुष र १५ महिला छन । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या जम्मा दुई हजार ६ सय ३४ पुगेको छ । जसमा दुई हजार चार सय ५० पुरुष र एक सय ८४ जना महिला छन् ।

कोरोना सङ्क्रमित जिल्लाको सङ्ख्या भने ६५ पुगेको छ । कोरोना भाइरसलाई जितेर आज मात्रै १२ जना घर फर्किएका छन । यससैँगै निको भएर घर फर्कनेको सङ्ख्या दुई सय ९० पुगेको छ ।

मृत्युपछि कोरोना पुष्टि
कोरोना भाइरसको सङ्क्रमणका कारण नेपालमा थप एक जना व्यक्तिको मृत्यु भएको छ । पाल्पाको पूर्वखोला गाँउपालिका सिलुवाका ४५ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएको हो ।

पाल्पाकै स्थानीय क्वारेन्टिनमा बसेका उनी भारतबाट पाँच दिन अघि नेपाल आएका थिए । उनलाई स्वास्थ्यमा समस्या भएपछि पाल्पाको तानसेनस्थित मिसन अस्पताल भर्ना गरिएको थियो ।

उपचारका क्रममा जेठ २० गते निधन भएको थियो । मृत्युपछि उनको स्वाब परीक्षणका लागि भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।