शुक्रबार थपिए २ सय ७८ संक्रमित, थप एक जनाको मृत्यु, नेपालमा संक्रमितको संख्या २९ सय १२ जना

काठमाडौं । कोरोना संक्रणबाट शुक्रबार थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सुर्खेत घर भएका २८ वर्षका पुरुषको मृत्यु भएको बताएका हुन ।

उनको जेठ २२ गते मृत्यु भएको हो । उनी जेठ ८ गतेदेखि क्वारेन्टिनमा बसेर जेठ २२ गते घर गएका थिए । उनीसँगै कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।

आजै थप दुई सय ७८ जनामा कोरोना संक्रमण भएको पुष्टि मन्त्रालयले गरेको छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दुई सय ६७ पुरुष र ११ महिलामा सङ्क्रमण देखिएको बताए ।

योसँगै सङ्क्रमितको सङ्ख्या दुई हजार नौ सय १२ पुगेको छ । आज थप तीन जिल्लामा सङ्क्रमित देखिएसँग ६८ जिल्ला पुगेका छन् । उनका अनुसार डिस्चार्ज हुनेको सङ्ख्या तीन सय ३३ पुगेको छ ।