खाली सडकमा लकडाउने दिक्दार मन र तन स्फूर्त बनाउँदै स्थानीय

० सुधिर ढुङ्गेल

साँझको समय । चिल्लो कालोपत्रे सडक । जेठको गर्मीबाट राहतको खोजीमा ३ वर्षको साना बच्चादेखि तन्नेरीको एक समुह मुखमा मुखौटो लगाएर सडकमा निस्कन्छन । सोसल डिस्टेन्सलाई परिपालना गर्दै १० बर्षे एरियाना ढुङ्गेल इनलाइन स्केट र हेलमेटमा विस्तारै सडकमा गुड्न थालिन ।

अर्का ३ वर्षिय एरिन ढुङ्गेल पनि आमाको साथमा साना खुट्टाले फुटवल खेल्न थाले । ९ वर्षे सुलक्षण ढुङ्गेल, ७ वर्षे क्रिस्टल पौडेल, १० बर्षे आदित्य ढुङ्गेल र ९ वर्षे प्रसुन ढुङ्गेल चौर पट्टीको भागमा जिम्यास्टीक हान्दै थिए । स्वतःस्फूर्त मग्न मनहरुले खेलेको देख्दा लाग्थ्यो यहाँ लकडाउनको प्रवाह छैन ।

फेरी त्यही माथिबाट दिपेन्द्र खरेल इनलाइन स्केटमा बेगसंग आए । संगसंगै मनोज आचार्य हात छोडेर साईकिलमा अनलिमिटेड स्पिडमा हुईकिदै थिए । नविन ढुङ्गेल पनि स्केटबोर्डमा घाप्टो परि सुतेर हावासंगै गुडेको भानमा मग्न थिए ।

माहोल एकाएक बदलियो । धेरै इभिनिङ्गवाक गर्ने जनसमुदाय टक्क उभिएर रमिता हेर्न थाले । सबैको मनमा यो के गर्न लागिएको हो भन्ने कौतुहलता लाग्यो । कसैले सुटिङ्गको तर्क काटे । हेर्दा कुनै विकसित देशको शहरको सडकमा खेलिएको खेल जस्तो । तर यथार्थता भने यि सबै खेलहरु लोकल स्टन्ट व्यायम थियो ।

कागेश्वरी मनोहरा न.पा. वडा नं ६ काठमाडौं ढुङ्गेल गाउँको यस सडकमा आजकाल यस्ता रमाईलो खेलहरु देखिन थालेको छ । कोरोना (कोभिड १९)का कारण नागरिकहरुको जीवन रक्षा गर्न सरकारले लकडाउन गरेपछि स–साना बालबालिका, स्कूल जाने उमेर समुहका बालबालिका र उच्च शिक्षा अध्ययन गरिरहेका तन्नेरीहरू घर भित्र बस्न बाध्य भएका छन । उनीहरुको मानसिक र शारीरिक तनाव हटाउन दिनको एक दुई घण्टा भए पनि यस्ता खेलले मद्दत मिल्ने गरेको छ । त्यसैले आफ्नो बच्चाहरुलाई सुरक्षित रुपमा बाहिर जान दिने गरेको सो वडाबासि समाजसेबी सरोज ढुङ्गेल बताउँछन ।

विं.सं.२०७६ सालमा यस नगर पालिकाको वजेटमा कालोपत्र गरिएको उक्त सडकमा यस वडा र छिमेकी बडाका सबै उमेर समूहका मानिसहरुलाई जगिङ्ग गर्ने, खेल्ने, साइलिङ्ग र आराम गर्ने थलोको रुपमा चिनिन थालेको छ ।

ुघर भित्र कहिले टिभी, कहिले आफ्नै आईटि को काम, कहिले सामाजिक संजाल सधै यही गर्दा दिक्क लाग्छ । कहिले बेलुकाको ५ बज्छ र घर बाहिर निस्केर त्यही सडकमा जाउँ जस्तो लाग्छु, उनले भने । आफुलेनै यस ठाउँमा यस्तो खेलको सुत्रपात गरकोले उनको दावी छ ।

गाडीको चहल पहल न्यून । फराकिलो सडक । हरियाली र स्वच्छ वातावरणले अन्य ठाउँको तुलनामा यस ठाउँको प्रदुषण निकै कम भएको वातावरण इन्जिनियर द्धारिका फुयालको भनाइ छ । यस्तो खेलले संपूर्णको शारिरीक र मानसिक विकास हुने र यस्ता खेलले अन्य वडाका भाइबहिनीलाई पनि प्रेरणा मिल्ने इन्जिनियर फुयाँल दावी गर्छन ।

भर्खरै बसन्तले छाडेर गएको हरियाली । ग्रिष्मको घाम अनि वर्षाको मलजलले अझ हरियाली बनाएकोे सडक संगै जोडिएका पाखो र नजिकै रहेको हरियो वन । घामको अन्तिम प्रहर त्यही प्रकृतिमाथि स्पर्स गर्दा साच्चैको आहा प्रकृती ! कसको मन हर्षित नहोलार ? त्यहि प्रकृतीको उमङ्गले मग्नमनहरु खेललाई डवल स्टन्ट दिन आतुर हुन्छन ।

आज सन्ध्याको अन्तिम प्रहर फुटबलको विभिन्न रुपको कुसलता प्रर्दशन गरिरहेका सदिस ढुङ्गेल, आयुस ढुङ्गेल, संस्कार ढुङ्गेल, सक्षम पौडेल पनि थाकेका देखिन्छन । सुभेक्षा ढुङ्गेल र अग्रिमा ढुङ्गेल पनि स्केटबोर्ड सिक्दा सिक्दा थाकिसके । खेल खेलेर थाकेका तनहरु फेरी सडक छेउपट्टीको भागमा बसेर रमाईलो गर्न थाल्छन ।