सञ्चारकर्मीलाई बेतलबी विदा बस्न लगाएको, तलब नदिएको र विस्थापनको अवस्था सिर्जना भएकोेप्रति प्रेस युनियनको आपत्ति

काठमाडौं । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना कहरले अप्ठेरोमा परेका मजदुर र अन्य नागरिकको आवाज पस्कने सञ्चारकर्मी नै आज सोही नियतिमा परेको प्रति नेपाल प्रेस युनियनले गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

युनियनका अध्यक्ष बद्री सिग्देलद्वारा जारी विज्ञतिमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण आम जनजीवन प्रभावित बनेको र यो महामारीमा मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीकर्मीलगायतसँगै सञ्चारकर्मी पनि अग्रभागमा जिम्मेवारीका साथ खटिइरहेको भए पनि उनीहरु नै समस्यामा परेको अवस्थाप्रति आफू मर्माहित भएको जनाएका छन ।

अध्यक्ष सिग्देलले भनेका छन, ‘कोरोना कहरमा गाँस, बासकै जोहो गर्न नसकेका मजदुर र अन्य अप्ठ्यारोमा परेका नागरिकको पक्षमा कलम चलाउने र दृश्य पस्कने श्रमजीवी सञ्चारकर्मी आज आफै सोही नियतिको संघारमा पुगेकोप्रति हामी निकै मर्माहित भएका छौँ ।’

उनले विज्ञप्तिमा लकडाउनको सुरुवाती अवस्थाबाटै बजारमा धेरै छापामाध्यम र अनलाइनहरु देखिन छोेडेको दृश्य, कैयौँ एफएम र टेलिभिजन सुनिन बन्द भएको अवस्थाले पनि त्यसमा आवद्ध सञ्चारकर्मी तथा कामदार कर्मचारीको अवस्था के भयो होला भन्ने अनुमान गर्न सकिने उल्लेख गरेका छन ।

पछिल्लो समयमा आएर स्थापित र ठूला कहलिएका सञ्चार प्रतिष्ठानले समेत आर्थिक अभाव देखाउँदै सञ्चारकर्मी, कर्मचारी कामदारलाई समयमा पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न दबाब दिने, जागिरबाटै हटाउने गरेको अवस्थाप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाउँदै सम्बद्ध पक्षको ध्यानाआकृष्ट गराएको छ ।

‘कोरोनाको यस संकटमा आफ्नो र परिवारको जीवन नै जोखिममा राखेर अग्रभागमा कार्यरत श्रमजीवी पत्रकारहरु यति ठूलो समस्यामा पर्दा समेत राज्य पक्ष संवेदनशिल नदेखिएकोमा हामी दुःख व्यक्त गर्दछौँ,’ अध्यक्ष सिग्देलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिका विरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास स्मरण गराउँदै लोकतान्त्रिक गणतन्त्र नेपालको झण्डै दुईतिहाइ बहुमतको सरकार भने यो जटिल र जर्जर अवस्थाप्रति बेखबर र बेपर्वाह बन्नु लज्जाको विषय भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

नेपाली सञ्चार क्षेत्रको यो संवेदनशिल अवस्थाप्रति युनियनले अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पनि ध्यानाकर्षण गराएको छ । सञ्चारकर्मी आफ्नो पेशाबाटै पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन युनियनले समयमै सबै पक्षलाई सचेत हुन आग्रह गर्दै भनेको छ, ‘कोरोनाको यो संकटमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि विशेष राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारसँग शख्त माग गर्दछौँ ।’