लकडाउनकाबीच ४० युवाले गरे रक्तदान

मसुरिया । कैलालीको गौरीगंगा नगरपालिका–८ बढैपुरमा युवाले रक्तदान गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस रोकथामका लागि गरिएको लकडाउनमा रगतको अभाव हुन थालेको भन्दै यहाँका युवाले रक्तदान गरेका हुन् ।

गौरीगंगा–११ स्पोर्टस् क्लबले आयोजना गरेको कार्यक्रममा आइतबार ४० जना युवाले रक्तदान गरेका हुन् । ‘रगतको अभाव भइरहेको खबर पाएपछि गाउँका ४० जना रक्तदाताले ४० पिन्ट रगत रेडक्रसको रक्त सञ्चार केन्द्र कैलालीलाई उपलब्ध गरायौँ,’ क्लबका अध्यक्ष दिनेश कलेलले भने, ‘आफूहरुको वार्षिक कार्यक्रम अनुसार सामाजिक कार्य अन्तर्गत रक्तदान कार्यक्रम गरेका हौँ ।’

कोरोनाका कारण रगत अभाव हुन नदिन गाउँका युवाले स्वतःस्फूर्त रक्तदान गर्न चाहेपछि रेडक्रससँग समन्वय गरेर रक्तदान गरिएको उनले बताए ।

क्लबले रेडक्रससँग समन्वय गरेर गाउँका युवामार्फत सकारात्मक कार्य गरेको भन्दै वडा नम्बर ८ का वडाध्यक्ष मिलन सापकोटाले प्रसंसा गरे । उनले भने, ‘यस्तो महामारीको समयमा रगतको अभाव हुन नदिन क्लबले गरेको रक्तदान कार्यक्रम सह्रानीय छ । म उहाँहरुलाई धन्यवाद दिन्छु, प्रसंसा गर्छु ।’