कोरोनाबाट थप एकको मृत्यु, सोमबार थपिए ३१४ संक्रमित, नेपालमा संक्रमितको संख्या ३ हजार ७६२ पुग्यो

काठमाडौं । देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट आज थप तीन सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये २९४ जना पुरुष र २० जना महिला रहेका छन् । योसँगै देशभर संक्रमितको संख्या तीन हजार सात सय ६२ पुगेको छ ।

कोभिड–१९ सङ्क्रमणबाट सोमबार एक जनाको मृत्यु भएको भएको छ । स्याङ्जा वालिङ नगरपालिका–३ घर भएका ५८ वर्षका पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । उनीसँगै अहिलेसम्म १४ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

आज २१ जना कोभिड–१९ सङ्क्रमणबाट निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । उनीहरुमध्ये बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट २० जना र कोभिड–१९ युनिफाइड अस्पतालबाट एक जना डिस्चार्ज भएका छन् ।

क्यान्सर अस्पतालबाट डिस्चार्ज हुने सबै बाँके नरैनापुरका १३ वर्षदेखि ५२ वर्षका पुरुष १५ औँ दिनदेखि २०औँ दिनमा भएका छन् । यस्तै युनिफाइड अस्पतालबाट एक जना २३ वर्षकी महिला ५ दिनमा डिस्चार्ज भएकी हुन् । अहिलेसम्म चार सय ८८ जना निको भएर घर फर्किएका हुन ।