रुपातालको माछाः रोजगारीको माध्यम

पोखरा । मुलकमा प्राकृति सम्पदाको कमी छैन । कमी छ त तीं सम्पदाको संरक्षण, सम्वद्र्धन, व्यवस्थापन र सदुपयोगको । यस्ता प्राकृतिक सम्पदाको संरक्षणसँगै यसको भरपुर उपयोग गर्नें हो भने रोजगारीको गतिलो आधार बन्ने पक्का छ । त्यसो गर्न सके रोजगारी खोज्न अन्त जानु नपर्ने तथ्यलाई यहाँको एउटा सहकारीले चरितार्थ पारेको छ ।

प्राकृतिक एवं मानवीय अतिक्रमणसँगै तालको अस्तित्व नै संकटमा पर्दै गएको अवस्थामा पोखरा उपत्यकाको तेस्रोे ठूलो तथा सुन्दर रुपातालको संरक्षणसँगै माछापालन गरेर रुपाताल पुनःस्थापना तथा मत्स्यपालन सहकारी लिमिटेडले राम्रै आम्दानी गरेको छ ।

रामसार सूचीमा सूचीकृत रुपाताल जलाधार क्षेत्रका स्थानीय बासिन्दाको सक्रियतामा २०५८ सालमा स्थापित संस्थाले स्थापनाकालयता तालको संरक्षण र प्रवद्र्धनका साथै तालमा माछा पालेर मनग्य आम्दानी गर्दै आएको छ ।

जैविक विविधता र विविध पारिस्थितिकीय प्रणालीका कारण यस क्षेत्रलाई महत्वपूर्ण स्थालका रुपमा लिने गरिएको रुपातालमा प्राकृतिक आहारा प्रशस्त पाउने हुँदा माछापालन पनि राम्रैसँग फस्टाएको छ ।

सिमल काँडे, लेउ, करौते, नाभोलगायत विभिन्न झारको चपेटामा परेर तालको सम्पूर्ण भूभाग ढाकी संकटमा पर्दै गएको ताललाई बचाउँदै त्यसबाट आम्दानी गर्दै आएको सहकारीका अध्यक्ष लेखनाथ ढकालले जानकारी दिए ।

‘पानीमा मौलाएको झार आहारा बनाउने उन्नत जातका माछाका भुरा प्रत्येक वर्ष तालमा छोड्दै आएका छौँ’, उनले भने, ‘हुर्केका माछाले झार खान थालेपछि अहिले तालको मुहार फेरिनुका साथै माछा बिक्रीबाट सहकारीले राम्रो आम्दानी गर्दै आएको छ ।’

उनका अनुसार रुपातालको स्वादिष्ट माछा बिक्री हुँदैन कि भन्नै पर्दैन, ग्राहक तालको छेउमा रहेको सहकारीको कार्यालयमै खरिद गर्न आउने गरेका छन् । सहकारीले गत वर्ष कूल एक करोड ८७ लाख मूल्यबराबरको माछा उत्पादन गरेको थियो । चालू आवको हालसम्म एक करोड ४० लाखको माछा उत्पादन भएको छ ।

प्रत्येक दिन साँझ तालमा सातजना कर्मचारीमार्पmत तालको छुट्टाछुट्टै स्थानमा सातवटा महाजाल थाप्ने गरेको बताउँदै ढकालले बिहान सबेरै जाल झिक्दा सय देखि पाँच सय केजीसम्म माछा पर्ने गरेको छ । सहकारीले तालको माछा छोपेर आम्दानी गर्नेमात्र नभई प्रत्येक वर्ष लाखौँ माछाका भुरासमेत छोड्ने गरेको छ ।

यस वर्ष ६० हजारभन्दा बढी विभिन्न जातका भुरा छोडिसकिएको अध्यक्ष ढकालले जानकारी दिए । संस्थाले पोखरा महानगरपालिका वडा नं ३१ स्थित चौरमा सात रोपनी जग्गा खरिद गरी ह्याचरीसमेत सञ्चालन गरी भुरा उत्पादन तथा हुर्काउने गरेको छ ।