शुक्रबार थपिए ४४८ संक्रमित, १६ जना निको भए, नेपालमा संक्रमितको संख्या पाँच हजार ६२ पुग्यो

काठमाडौं । शुक्रबार एकै दिन थप चार सय ४८ जना नयाँ संक्रमित पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आजसम्म नेपालमा कुल पाँच हजार ६२ जना कोरोना संक्रमित पुष्टि भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट चार सय २४ पुरुष र २४ महिलामा सङ्क्रमण पुष्टि भएको बताए । आज देखिएको सङ्क्रमितको सङ्ख्या अहिलेसम्मकै सबैभन्दा बढी हो ।

गत माघ ९ गते नेपालमा पहिलोपटक चीनको वुहानबाट आएका एक विद्यार्थीमा पहिलोपटक सङ्क्रमण देखिएको थियो । नेपालमा पुष्टि भएका संक्रमित मध्ये चार हजार सात सय नौ पुरुष र तीन सय ५३ महिला छन् ।

आज १६ जना डिस्चार्ज

मन्त्रालयका प्रवक्ता डा गौतमका अनुसार आज १६ जना सङ्क्रमित पूर्णरुपमा निको भई घर फर्किएका छन् । तीमध्ये १२ पुरुष र चार महिला छन् । हालसम्म आठ सय ७७ डिस्चार्ज भइसकेका छन ।

तीमध्ये सात सय ८६ पुरुष र ९१ महिला छन् । अहिलेसम्म पिसिआर विधिबाट एक लाख २१ हजार आठ सय ६२ जनाको परीक्षण भएको छ ।