भयो संसद एकढिक्का, फैलियो नेपाल लिपुलेकसम्म

काठमाडौं । लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ । शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो । बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् ।

भूगोल र आर्थिक सामथ्र्यका आधारमा विश्वमानचित्रमा नेपाल सानो देखिए पनि ओजपूर्ण राष्ट्रिय अस्तित्वलाई अक्षुण्ण राख्दै सार्वभौमसत्ता सम्पन्न स्वतन्त्र राष्ट्रका रुपमा स्थापित नेपालको भूगोलमा आजदेखि लिपुलेकसम्म वैधानिक रुपमा फैलिएको छ ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको भूभाग समावेश गरेर नेपालको संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची– ३ मा संशोधका लागि सघीय संसद्ले संविधान संशोधनको प्रस्ताव दुई तिहाइभन्दा बढी मतका साथ पारित गरेका छन । योसँगै नेपालको भूगोल तीन ३५ वर्ग किलोमिटरले विस्तार भएको छ भने ६० वर्षअघिदेखिको समस्यालाई सरकारले साहसपूर्वक गरेको निर्णयको सबैतिरबाट सराहना भएको छ ।

सुगौली सन्धिअनुसार जारी भएको नयाँ नक्शा पारित भएसँगै नेपाली भूमि फिर्ता लिन र त्यसमा नेपालको निर्वाध हक स्थापित गर्न उच्चस्तरीय कूटनीतिक प्रयास तत्काल थाल्नुपर्ने अबको जिम्मेवारी बाँकी देखिएको छ । राष्ट्रियता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र राष्ट्रिय हितका पक्षमा सारा नेपालीसँगै सिङ्गो संसद् एकजुट भएर देखाएको अभूतपूर्व राष्ट्रिय सहमतिले पनि गुमेको भूमि प्राप्तिको अभियानमा ऊर्जा थपेको छ ।

अनादिकालदेखि जोडिएको नेपाल–भारतको ‘रोटीबेटी’को सम्बन्ध रगतको नाताले बाँधिएको ठान्ने दुवै देशका नागरिक सिमानालागायत दुई देशबीचका सबै समस्याको निकास सघन संवादका माध्यमबाट खोजिनुपर्नेमा एकमत छन् । तर वार्ताका निम्ति मिति प्रस्ताव गर्दै नेपाल सरकारबाट भएको अनुरोधको प्रत्युत्तर भारतबाट प्राप्त नहुँदा सुमधुर आपसी सम्बन्धमा आँच आउने आशंकालाई बढावा दिएको छ । यसका लागि भारतीय कुटनीतिक जानकार एसडी मुनी, नेपालका लागि भारतीय पूर्व राजदूत रञ्जित रेलगायतले पनि यो समस्या वार्ताबाटै समाधान हुनुपर्ने धारणा सार्वजनिक गरिसकेका छन ।

शान्ति, मैत्री, भ्रातृत्व, सहकार्य र साझेदारीमा आधारित नेपाल–भारत सम्बन्धलाई थप सहयोगात्मक बनाउँदै यसलाई दुवै देशका जनताको बृहत्तर हितमा केन्द्रित गर्न अपरिहार्य भएर नै प्रधानमन्त्री मोदीको पहिलो कार्यकालमा अघि सारिएको ‘भारतको पहिले छिमेक नीति’लाई व्यवहारमा अनुवाद गर्दै अवलम्ब वार्ता हुन आवश्यक छ ।

त्यस्तै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ‘आज नक्सा पारित भएको छ, हामी सबै नेपालीलाई बधाई ! रास्ट्रीयताको पक्षमा आज प्रस्तुत रास्ट्रीय एक्यवद्धता दुरगामी रुपले अत्यन्तै महत्त्वपूर्ण छ’ भनेका छन । उनले इतिहासमा एक अर्को दिनपनि जरुर आउने बताउँदै भनेका छन, ‘कालापानीबाट भारतीय सैनिक फिर्ता गर्दै लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हक स्थापित गर्ने ।’

आजको दिनलाई विभिन्न व्यक्तित्वले ऐतिहासिक दिनका रुपमा चित्रण गरेका छन । ‘सिङ्गो संसद् एक ढिक्का भएर परिवर्तित नक्सालाई संविधानको अंग बनाएको यो क्षणमा गर्वको अनुभूति भइरहेको छ’, भन्दै काँग्रेस नेता गगन थापाले ट्वीट गरेका छन । उनले राष्ट्रिय स्वाभिमानको यो लडाईमा आजको दिन सदा स्मरणीय रहने उल्लेख गरेका छन । अब यसरी नै सबै नेपाली एकताबद्ध भएर हाम्रो भूमिबाट विदेशी सेनालाई फिर्ता पठाउने पनि उनले उल्लेख गरेका छन ।

त्यति मात्र होइन समाजका हरेक व्यक्ति, तह र तप्काले आज ऐतिहासिक दिन भएको र संसदले देखाएको एकताको उच्च प्रसंसा गरेका छन ।