पाल र थापाः कसको काँधमा आईजीपीको फुली ?

काठमाडौं । नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) फेरिने समय साढे तीन साता मात्र बाँकी छ । तर विगतमा जस्तो खासै चर्चा परिचर्चा छैन ।

विगतमा बहालवाला आईजीपीले आफ्नै कार्यकाल लम्ब्याउन चलखेल गर्ने र आकांक्षीहरुले अस्वस्थ प्रतिष्पर्धा गर्नेजस्तो चर्चा यसपटक सतहमा आएको छैन ।

नत अहिलेका आईजीपी ठाकुर प्रसाद ज्ञावाली आफ्नै कार्यकाल लम्ब्याउने चलखेल गरिरहेका छन् नत असार २५ गते पछि बन्ने आईजीका दुई प्रतिष्पर्धी एकभन्दा आफू राम्रो प्रमाणित गर्ने दौडमा छन ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री र हरिबहादुर पालमध्ये एक जना नेपाल प्रहरीको २८ औं आईजीपी बन्ने छन् । आईजीपी बन्ने मिति नजिकिँदै जाँदा दुई जनाबीच कडा प्रतिष्पर्धा देखिन्छ ।

तर दुई जनाका बीचमा आईजीपी बन्नकै लागि एकले अर्कोलाई बदनाम नगर्ने र जो आईजीपी बनेपनि भोलीका दिनमा मिलेर काम गर्ने समझदारी बनिसकेको छ ।

आईजीपीको दौडमा लागेपछि एकले अर्कोलाई बदनाम गराउने प्रहरीभित्र नियमजस्तै बनिसकेको थियो । त्यसमा हालका आईजीपीको पालामा ब्रेक लागेको देखिनछ । नेपाल प्रहरीमा यस्तो दृश्य कमै देख्न पाइन्छ । तर, यस पटकको प्रतिष्पर्धा विवादरहित हुने देखिएको छ ।

‘आईजीपी बन्न आ–आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने कुरा त भै नै हाल्यो तर जो बने पनि एक अर्कालाई सहयोग गर्ने हामीले सहमति नै गरेका छौँ’ पालले भने, ‘आफू नेतृत्वमा पुग्न अरुलाई बद्नाम गराउन लाग्नु भनेको सिंगो संगठनका लागि नराम्रो हो, मत त्यस्तोमा लाग्दैन ।’

संगठनको प्रमुखले कसैलाई काखा, कसैलाई पाखा नगरेर काम गर्नुपर्छ भन्दै पालले आफ्नो प्रतिष्प्रर्धी नठानेर सेकेन्डमेनसँग पनि आवश्यक सुझाव सल्लाह लिएर काम गर्दा राम्रो काम हुने बताए ।

अर्का प्रतिष्पर्धी थापाले पनि दुबै जनामा अस्वस्थ प्रतिष्प्रर्धा नगर्ने सहमति भएको बताए । ‘हामी दुबै एकदमै मिल्ने साथी हौँ, मित्रवत सम्बन्ध छ,’ थापाले भने, ‘जो भए पनि मिलेर काम गर्छौँ ।’

आईजीको दौडमा लाग्दालाग्दै एकले अर्कोलाई नस्वीकार्ने बरु जागिरै छोड्नेसम्मका घट्ना नेपाल प्रहरीमा विगतमा भए गरेका हुन । तर, यसपटक त्यस्तो किचलो नहुने उच्च प्रहरी अधिकृतहरु बताउँछन् ।नेपाल प्रहरीमा यसपटक लामो समयपछि एआईजीबाट आईजीपी छानिँदैछन् । यसअघि प्रहरी नायब महानिरीक्षक (डीआईजी) बाट सीधै आईजीपी बनाउनु पर्ने अवस्था थियो ।

माघ २८ गते आईजी भएका ज्ञवालीको कार्यकाल सकिन अब २४ दिन मात्रै छ । पहिलो नम्बरमा एआईजीमा बढुवा भएका तारिणीप्रसाद लम्साल पनि सेवा हदका कारण ज्ञवालीसँगै सेवानिवृत्त हुँदैछन् ।

सधैँ सँगसँगै
भावी आईजीपीका प्रतिष्पर्धी पाल र थापा दुबैले एकैसाथ २०४९ बैशाख १९ गते जागिर प्रवेश गरेका हुन् । जागिर प्रवेशसँगै जागिर अवधिभर भएका हरेक बढुवामा पनि दुबै जना सँगसँगै बढुवा भए ।

डिएसपी बढुवादेखि एआईजी बढुवासम्म सँगै रहेका यि दुई जना अबको बढुवामा भने सँगैसँगै हुने छैनन् । एक जना करिब २२ महिना संगठन प्रमुखको जिम्मेवारी सम्हाल्ने छन् भने एक जनाले एआईजीबाटै सेवाबाट विदा हुनुपर्ने छ ।

सुदूरपश्चिमको दार्चुलाका पालले सुदूरपश्चिमबाटै सेवा सुरु गरे भने भक्तपुरका थापाले प्रहरी प्रशिक्षण प्रतिष्ठानबाट सेवा सुरु गरेका थिए ।
प्रहरी निरीक्षकमा पहिलो नम्बरमा भर्ती भएका सैलेश थापा धेरै पटक वरियतामा पछि परे । ११ औं नम्बरमा भर्ती भएका हरि पालले आफूभन्दा माथिल्लो बरियतामा रहेका धेरैलाई उछिनेर अगाडि आए ।

२०५८ वैशाख १८ गते डीएसपीमा बढुवा हुँदा थापा २ नम्बर र पाल १३ औं नम्बरमा थिए । तर त्यसको आठ वर्षपछि २०६६ साल पुष २० गते एसपी बढुवामा थापा तेस्रो नम्बर र पाल पाँचौं नम्बरमा थिए । २०७४ साउन १९ गते भएको एसएसपीमा बढुवा हुँदा थापा पहिलो नम्बरमा र पाल चौथो नम्बरमा थिए । जसमा निरज शाही दोस्रो र प्रद्युम्न कार्की तेश्रो नम्बरमा एसएसपी भएका थिए ।

२०७५ असोज २० गते सरकारले ११ डीआईजी बढुवा गर्दा थापा छैठौं र पाल सातौं नम्बरमा थिए । उनीहरुभन्दा पछाडि शाही र कार्की आठौं र नवौं नम्बरमा बढुवा भए । ६० जनाले सँगै जागिर सुरु गरेकामा डिआईजीसम्म पुग्ने उक्त व्याजका यि चार जना मात्र हुन् ।

२०७६ फागुन १५ गते सरकारले एआईजीपीको बढुवा सूचि सार्वजनिक गर्दा थापा दोस्रो र पाल तेस्रो नम्बरमा एआईजीमा बढुवा भएका थिए । आईजीपीका प्रतिष्प्रर्धी दुबै जना व्यवसायीक क्षमातावान र निष्कलंकित अधिकृतका रुपमा चिनिन्छन । पालले जागिर अवधिको अधिकांश समय फिल्डमै बिताएका छन् भने थापा अनुसन्धान र अप्रेसनमा अब्बल मानिन्छन् ।