‘म बलात्कारीको अंग अंक काटेर झुण्ड्याउने आदेश दिन्थेँ’

देवीका केसी, नेपाली लोकगायनमा लागेको झण्डै दुई दशक भयो । लोगसंगीतलाई न्याय गरेर गाउने उनी पढेलेखेकी, भद्र, शालिन, मिजाशिला शैलीकी मात्र छैनन् हँसिलो स्वभावकी धनी पनि हुन् । प्राय विदेशतिरै रहने उनी नेपाली संगीतमै समर्पित हुने अठोट व्यक्त गर्छिन । अक्षरपाटी डटकमका लागि गरिएको अक्षर संवाद :

आफ्नो परिचय कसरी दिनुहुन्छ ?

म एक इमान्दार र लोकले नै बनाएको कलाकार हुँ भन्छु ।

कलाकारिता क्षेत्र रोज्नुको खास कारण ?

कारण नै त छैन, तर म भित्र केही हुनर छ, गीत गाउनसक्ने क्षमता छ । त्यसैले होला ।

सुन्दर हुनुहुन्छ, मोडल वा नायिका नबनेर गायनमै किन ?

म भन्दा मेरो आवाज मिठो छ, अर्को कुरा कतिपय हाम्रो यात्रा माथिबाट भगवानले नै तय गरेको हुन्छ जस्तो लाग्छ । फेरि गला सँधै जीवन्त रहन्छ नि । दर्शक, स्रोताले सुन्दर देख्नुहुन्छ, त्यसबेला म आफूलाई भाग्यमानी ठान्छु । गायनमा आउनुअघि म नृत्य सिक्थेँ । केही पुराना श्रष्ठाका गीतमा अभिनय पनि गरेकी छु नि ।

 कलाकार बन्छु भनेर बन्न सकिन्छ ?
बन्छु भन्दा पनि कलाकारितामा आफूलाई सँधै जिवन्त राख्ने अठोट हुनुपर्छ । परिवारको सहमति र कला दुबै चाहिन्छ नै ।

गायनमा लागेर बाँच्न सकिन्छ ? 

हम्मे नै पर्छ जस्तो लाग्दैन । व्यवसायिक गायनमा लागेका वा आफूलाई यही क्षेत्रमा समर्पित गरेकाहरु चलेकै छन् । केही अग्रजहरु, कतिपय मेरा साथीहरु यही क्षेत्रमा स्थापित भइसकेका छन् । भोली त के हुन्छ, त्यो भन्न सक्दिन ।

कलाकारितामा शोषण छ भन्ने हल्लाहरु पनि सुनिन्छन्, सत्य हो कि, हल्ला मात्रै ?

कलाकारिताभित्र मात्रै शोषण हुन्छ वा भएको होलाजस्तो मलाई लाग्दैन । हत्या, हिंसा, बलात्कारजस्तो जघन्य अपराध दिनप्रतिदिन बढ्दो छ । धेरै चेलीहरु यसको शिकार भइरहेका छन् । मेरो सवालमा कुरा गर्दा मैले यो क्षेत्रमा १७ वर्ष पार गर्दा सबैको सदभाव, साथ पाएकी छु । कुनै दुव्र्यवहार सहनुपरेको छैन । अब सस्तो लोकप्रियताका लागि वा कुनै लालचका लागि कोही आफै कमजोर बन्छ भने त मेरो भन्नु केही छैन ।

आफ्नो  क्षेत्रमा अब्बल हुन चाहिने मुख्य कुरा के हो ?
– लगनशीलता
– इमान्दारिता
– र, आफूमा क्षमता

पिउने बानी कत्तिको छ ?

हा…हा…हा…। अवसरहरुमा पिउँछु । चाडबाड, पर्वहरुमा ।

जीवन के हो ? 

जीवन दुःख र सुखको संगम हो ।

शुख, दुःखको हिसाब छ ?

जीवनको उकाली ओरालीमा धेरै शुख, धेरै दुःख आए । हिसाब राखेकी छैन ।

सम्भोगबारे के धारणा छ ?

सेक्स जीवन चल्ने प्रक्रिया हो । यो श्रृष्टि चलाउने माध्यम हो । मानिसका लागि सुखभोगको एक अनुपम क्षण ।

 श्वैरकल्पना गरौँ ! मानिलिउँ, तपाईँ एकदिनको प्रधानमन्त्री बन्नुभयो ! महत्वपूर्ण काम के गर्नुहन्थ्यो ?

आहा ! म एक दिनका लागि मात्रै प्रधानमन्त्री भएँ भने चिचिला नानीहरुलाई निमोठ्ने यी यौन पिपाशु बलात्कारीलाई अंग अंग काटेर झुण्ड्याएर मार्ने आदेश दिन्थेँ ।