काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अब सरकारले सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताए ।
प्रभावकारी कार्यान्वयन नभए पनि अहिले २५ जिल्लामा यो कार्यक्रम लागू भएको छ । मन्त्री ज्ञवालीले चाँडै देशका सबै जिल्लामा यो कार्यक्रम लागू हुने जानकारी दिए।
गुल्मीको हुँगाकी मृगौला पीडित १३ वर्षिया वालिका बन्दना भण्डारीलाई उपचारकालागि उठाइएको सहयोग रकम हस्तान्तरण गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले हालै सरकारले ३५ लाख श्रमिकको हितका लागि योगदानमा आधारित सामाजिक सुरक्षा योजना सार्वजनिक गरेको प्रष्ट पारे।
स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यसले मृत्युलाई जित्न नसकिए पनि पैसा अभावले अकालमा ज्यान गुमाउनु पर्ने बाध्यताको अन्त्य गर्न सहयोग पुग्ने दावी गरे । अहिले लागू भएका जिल्लामा भने अनिवार्य सिफारिसको झण्झटिलो व्यवस्था, अस्पतालमा बीमा सुविधामा पाइने औषधिको कृतिम अभावले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी हुन सकेको छैन ।
यस्ता कार्यले आम मानिसको जीवनस्तर माथि उठाउन र सरकारले परिकल्पना गरेको समृद्ध नेपाल बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्न भने मन्त्री ज्ञवाली पछि परेनन् ।
‘सरकारले कामै गरेन भनेर टिप्पणी गर्नु स्वागतयोग्य कुरा भए पनि सकारात्मक कामको पनि मुल्यांकन गर्नु पर्छ,’ मन्त्री ज्ञवालीले भने।
कार्यक्रममा मन्त्री ज्ञवालीले हुँगाकी १३ वर्षिया वालिका भण्डारीलाई उपचारका लागि दुबईमा संकलन गरिएको २ लाख ८ हजार ५ सय रुपैयाँ उपचारका लागि सहयोग हस्तान्तरण गरेका थिए।