प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिलाई लिएर काँग्रेसले माग्यो नेकपाको सँस्थागत धारणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्ति र ब्यवहारप्रति विमति जनाएको छ । काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति र ब्यवहारबारे सरकार र सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संस्थागत धारणा माग गरेको छ ।

काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्तिमार्फत पछिल्लो समय मुलुकमा देखिएको विविध परिदृश्यमा प्रधानमन्त्रीका अभिव्यक्तिहरुले प्रश्न सिर्जना गरेको उल्लेख गरेका छन । प्रतिपक्षी दलका तर्फबाट सार्वजनिक प्रश्न गर्नु आफ्नो कर्तव्य भएको शर्माले विज्ञप्तिमा उल्लेख गरेका छ ।

काँग्रेसले मुलुकभर बाढी–पहिरोमा कयौँको मृत्यु भएका बेला सरकार समवेदनाको एक वक्तव्यमा सीमित हुन नहुने, कोरोना महामारी नियन्त्रणमा युद्धस्तरमा तयारी गर्नुपर्ने, सर्वसम्मतिले देशको नयाँ नक्सा संसदबाट जारी भएपछि कूटनीतिक पहलकदमी चाल्नुपर्ने प्रधानमन्त्रीको दायित्व हुने उल्लेख गरेको छ ।

नयाँ नक्सा अनुरुपको जमिनमा हक स्थापित गर्न गम्भीर कूटनीतिक पहलक गर्नभन्दा अयोध्याबारे विवादास्पद अभिव्यक्ति दिनुको अर्थ विषयको गम्भीरताप्रति प्रधानमन्त्री गम्भीर नभएको प्रवक्ता शर्माले टिप्पणी गरेका छन ।

प्रधानमन्त्री पद मुलुकको संस्कार, संविधान र संवेदनशीलताभन्दा अलग हुन नहुने संविधानले परिकल्पना नगरेको उल्लेख गर्दै काँग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ति सरकारकै संस्थागत अभिव्यक्ति हो वा नेकपाको हो त्यो प्रस्टीकरण गर्नुपर्ने माग काँग्रेसले गरेको छ ।