भारतको मध्य प्रदेशमा दाजुभाइद्वारा एकै परिवारका ६ जनाको हत्या

एजेन्सी । भारतको मध्य प्रदेशको मण्डला जिल्लामा दुई परिवारको आपसी विवादमा ६ जनाको मृत्यु भएको छ । एउटै परिवारका दुई भाईले बुधबार एकै परिवारका ६ जनाको धारिलो हतियारले प्रहार गरेर हत्या गरेको भारतीय मिडियाले उल्लेख गरेका छन ।

उक्त घटना मण्डला जिल्ला सदरमुकामदेखि १०० किलोमिटर टाढा बीजाडाँडी पुलिस थाना अन्तर्गत मनेरी पुलिस चौकी इलाकाको मनेरी गाउँमा साँझपख भएको प्रहरीले बताएको छ । घटनास्थल पुगेका अतिरिक्त पुलिस अधिक्षक विक्रम सिंह कुशवाहका अनुसा अहिलेसम्म ६ जनाको मृत्यु भएको पुष्टि भएको छ । उनका अनुसार मृतक एकै परिवारका सदस्य हुन ।

उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट ६ जनाकै हत्या हरिश सोनी र उनका कान्छा भाइ सन्तोष सोनीले गरेका हुन । दुबै आरोपी स्थानीय सुन्दर सोनीका छोरा हुन । पुलिसका अनुसार आरोपीले घरमै सबै जनाको हत्या गरेका थिए । प्रहरीका अनुसार यी दुवै परिवार आपसमा टाढाका दाजु भाइ हुन । घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको मिडियाले उल्लेख गरेका छन ।