शकुन्तलाको औंठी लिलाम गर्दै शिल्पी

काठमाडौं । शिल्पी थिएटरमा मंसीर ७ देखि ‘शकुन्तलाको औंठी’ हेर्न सकिने भएको छ । नाटक पुष ७ सम्म मञ्चन हुनेछ । मङ्गलबार बाहेक हरेक साँझ ५ बजे मञ्चन गरिने नाटक शनिबार दिउँसो १ः३० मा पनि मञ्चन गरिने थिएटरले जनाएको छ ।

भारतीय नाटककार सुरेन्द्र वर्माको अस्तित्ववादी नाटकलाई नेपालीमा अनुवाद र निर्देशन सुरज मल्लले गरेका हुन् । एक्टर्स स्टुडियो प्रस्तुतकर्ता रहेको ‘शकुन्तलाको औंठी’मा दीया मास्के, सुरज मल्ल, आशीष श्रेष्ठ, रन्जना भट्टराई, अनुप न्यौपाने, प्रणव केसी, अनिल थापा, विकास न्यौपाने, रोशन खत्री, अनु दाहाल, प्रकृति रायमाझी, प्रमिला कार्की, नीर्मला खत्री, सुनिल खड्का, प्रकाश कट्टेललगायतले अभिनय गरिरहेका छन् ।

पौराणिक कथा ‘अभिज्ञान शाकुन्तलम’का पात्रहरुका साथ व्यक्तिगत जीवनको जिम्मेवारी र बाध्यताहमा घेरीएका रङ्गकर्मीहरुको पीडा नाटकको मुल कथा हो । नाटकमा प्रयोग सांगीतिकमा संयोग गुरागाईंको शब्द रहेको छ ।

नाटकमा प्रयोग भएको उक्त औँठी लिलाममा पनि राखीएको छ । पानको पात अंकित औंठीलाई आयुषा श्रेष्ठले डिजाइन गरेकी हुन् । दुई हजार आठ सय अट्ठाईसमा बनाइएको उक्त औँठीलाई आफ्नो बनाउन थुप्रैले मोल लगाइसकेका छन् । नाटकको अन्तिम शो अर्थात् पुष ७ गते सो औँठी पनि लिलाम हुनेछ ।