खुमलटारदेखि बालुवाटारसम्म पनि सुल्झेन नेकपा विवाद

-टिप्पणी-

O शंकर खैराली

काठमाडौं । पार्टी विवादकै बीच बाढीपहिरोको निरीक्षण गर्न चितवन पुगेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी फुटन नदिने अभिव्यक्ति मात्र दिएनन ।

लकडाउनका बीच उनले कार्यकर्तालाई सम्बोधन गर्दै भने, ‘पार्टीभित्रै केही व्यक्ति मलाई र केही व्यक्ति अध्यक्ष ओलीलाई उचालिरहे पनि हामीहरु पार्टी फुटन दिँदैनौ ।’ उनको यो अभिव्यक्तिले विवादको प्रसंग धेरै हदसम्म साम्य भएको संकेतका रुपमा लिइयो । ‘अब यात ओलीले राजीनामा दिन्छन, या पार्टीमा ठूलै बिग्रह आउँछ’ भन्ने अनुमानकर्ताहरुलाई दाहालको अभिव्यक्तिले एकहदसम्म चुप लाग्न बाध्य पार्यो ।

असार १० देखि जारी बैठक अब साउन २ गते अर्थात शुक्रबार लागि बोलाइएको छ । असार १० बाट जारी बैठक पटक पटक स्थगित हुँदै असार २६ मा आएर शुक्रबार बस्ने गरि स्थगित गरिएको थियो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग चर्को भएपछि ओलीले बैठकमै उपस्थित हुन आनाकानी समेत गरेपछि बैठक लम्बिँदै गयो । बैठक लम्बिँदै जाँदा उत्तरी छिमेकी चीनको सक्रियताले विवाद मत्थर मात्रै भएन ओलीको राजीनामाको माग गरिरहेका दाहाल, माधव कुमार नेपा, झलनाथ खनाल र बामदेव गौतमहरुकै भेट पातलियो । त्यहीबेला देशभर बाढीपहिरोले जनधनको क्षति भएको भन्दै उद्धार र राहतमा खटिने बहानामा स्थायी कमिटी बैठक स्थति गरियो ।

भोली बस्ने बैठक अघि पार्टीभित्रको विवाद मिलाउने कोसिस स्वरुप अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल निरन्तर छलफलमा छन । तर तीं छलफल र भेटघाट सकारात्म नभएको पार्टी सम्बद्ध स्रोतको दावी छ । बालुवाटारमा दुई अध्यक्ष र वरिष्ठ नेता माधव नेपाललगायतका नेताबीच छलफल हुनुअघि पनि दाहाल निवाश खुमलटारमा दाहाल र नेपाललगायतका नेताबीच छलफल भएको थियो ।

प्रधानमन्त्री ओलीले केही महिनाअघि ल्याएको पार्टी विभाजनसम्बन्धि विधेयकले उब्जाएको आशंका, सरकारको कार्यशैली र पछिल्लोपटक जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा असार १४ गते प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले उनी पार्टीभित्रै आलोचित बनेका छन ।

ओली नेतृत्वको सरकारको कार्यशैली ठिक नभएको, पार्टीका सम्पूर्ण नेता, कार्यकर्तासँग समान र सदभावपूर्ण व्यवहार नगरिएको र बेला बेला विवादास्पद अभिव्यक्ति दिने गरेको भन्दै पार्टीमा अर्का अध्यक्ष दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतकाले ओलीको राजीनमाको मुद्दालाई चर्को बनाएका छन ।

विवाद नसुल्झिएको संकेत

पछिल्लो समय उत्तरी छिमेकी चीनका राजदूतको सक्रियतामा विवाद केही साम्य भएको, सरकारमा मन्त्री हेरफेर गरेर भए पनि पाँच वर्ष ओली नै रहने र पार्टीको अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने तथा पार्टीलाई एक बनाएरै अघि बढ्ने सहमति भएको बताइए पनि विवाद भने नसुल्झिएको बिहीबारको छलफलले संकेत गरेको छ ।

पछिल्लोपटक ओलीले आदिकवि भानुभक्तको जयन्तीका अवसरमा रामको जन्मभूमीबारे दिएको अभिव्यक्तिले उनी पुनः आलोचिन बनेका छन । उनकै परराष्ट्र मन्त्रालयले अभिव्यक्तिमाथि प्रतिक्रिया जनाउनु परेको छ । कुटनीतिक मर्यादालाई ख्याल नगरेर प्रधानमन्त्रीको स्तरबाट पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै जाँदा पार्टी, सरकार र देशकै गरिमामा आँच पुग्ने विषयले पार्टीमा पुनः विवाद ल्याएको छ ।

प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि ओलीको उक्त बोली पार्टीको विचार हो वा ओलीको अभिव्यक्ति भनेर प्रश्न गरिसकेको छ ।

अनेक अभिव्यक्ति

कहिले भारतले आफूलाई हटाउन खोजेको त कहिले राम नेपालको ठोरीमा जन्मिएकोजस्ता अप्रमाणित विषय उठान गरेर उनी विवादमा आउने गरेका छन । जसले उनलाई बाहिर मात्र होइन पार्टी भित्रै आलोचित बनाउने गरेको छ । यस्तै अभिव्यक्ति, पार्टी र सरकारमा ओलीको कार्यशैलीदेखि आजित बनेका प्रचण्ड, नेपाललगायतले ओलीको राजीनामाको विषयलाई पेचिलो बनाउँदै लगेका हुन ।

पछिल्लोपटक जेजस्तो भए पनि सरकारमा केही मन्त्री फेरबदल गरेर दुवैपक्षको ‘विनविन’को अवस्थामा पार्टीलाई अघि बढाउने सहमति भएको विश्लेषण राजनीतिक वृत्तमा चर्चा गरिए पनि बिहीबारको बैठकमा प्रचण्ड र नेपालले ओलीले राजीनामाको पूर्ववत अडान दोहोर्याएपछि छलफल निस्कर्ष विहीन बनेको बुझिएको छ । यही अडानका कारण छलफल जारी राख्ने गरि आजको बैठक विना निस्कर्ष टुंगिएको बताइएको छ ।

आजको बैठकमा प्रचण्ड र नेपालले राजीनामाको विषय अघि सारेपछि ओलीले पनि आफू कुनै हालतमा राजीनामा नदिने अडान कायम राखेका छन । २ घण्टा चलेको बैठकमा दुबै पक्षले आ–आफ्नै अडान राखेपछि बैठक त्यसै टुंगिएको बताइएको छ ।

‘नेकपाको एकता अघि २०७५ जेठ २ मा ओली र प्रचण्डले आधाआधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो ।  २०७७ मंसिर ५ मा ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले पार्टीको एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने सहमति जुटेको थियो’

दुई अध्यक्षबीच बुधबार पनि छलफल भएको तर कुनै निष्कर्ष निस्कन सकेको थिएन । आजको बैठकमा नेपाल पनि सहभागि भएको र उनले ओलीको राजीनामाको माग दोहोर्याएपछि छलफल कुनै निष्कर्षमा पुग्न नसकेको हो ।
शुक्रबार बस्ने स्थायी समिति बैठकअघि सहमति खोज्ने प्रयास स्वरुप भएको छलफल दुबै पक्षले आ आफ्नै अडान दोहोर्याएपछि सहमति जुट्न सकेको छैन ।

अध्यक्ष प्रचण्डसहित नेपाल, खनाल, गौतमलगायतका नेताहरु पार्टी र सरकार सञ्चालनमा ओली असफल भएकाले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने पक्षमा छन् ।

नेकपाको एकता अघि २०७५ जेठ २ मा ओली र प्रचण्डले आधाआधा कार्यकाल सरकार चलाउने सहमति भएको थियो । त्यसपछि २०७७ मंसिर ५ मा ओलीले पाँच वर्ष सरकार चलाउने र दाहालले पार्टीको एकता महाधिवेशनसम्म पार्टीको नेतृत्व गर्ने सहमति जुटेको थियो ।

तर पछिल्लोपटक सरकार र पार्टी दुवैमा ओली सर्वेसर्वा भएपछि नेकपामा मनमुटाव बढ्दै गएको हो । वरिष्ठ नेता नेपाल भने एक व्यक्ति एक पद हुनुपर्ने अडानमा छन । प्रधानमन्त्री ओलीले भने सरकारको नेतृत्व गर्न पाँच वर्ष कुर्न र पार्टीको नेतृत्व लिन एकता महाधिवेशनसम्म पर्खन भन्दै अभिव्यक्ति दिइसकेका छन । त्यसैले पनि नेकपाको विवाद पेचिलो देखिएको हो ।

पार्टीका मध्यमार्गी नेताहरु भने दुई अध्यक्षले पार्टीको विवाद मिलाउने विश्वास व्यक्त गर्छन । दुई अध्यक्षबीच पुनः छलफल हुने र भोलीको स्थायी कमिटी बैठकले पार्टीको आगामी मार्गको संकेत गर्ने राजनीतिक विश्लेषकहरुको भनाइ छ ।