भारतमा कोरोना संक्रमितको संख्या ११ लाखको नजिक, एकै दिन ३७ हजारभन्दा बढी संक्रमित, अमेरिकामा गयो १ लाख ४२ हजारभन्दा बढीको ज्यान, निको हुनेको संख्या पनि उच्च

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या करिब ११ लाखको नजिक पुग्न थालेको छ । पछिल्लो समय भारतमा तीव्र रुपमा कोरोना संक्रमण भइरहेको तथ्यांकले देखाएको छ । शुक्रबार ३४ हजार ८ सय २० जनामा देखिएको संक्रमण शनिबार एकै दिन ३७ हजार चार सइ सात जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा शनिबार बेलुकीसम्म १० लाख ७७ हजार ८ सय ६४ जना संक्रमित भएका छन । आइतबारसम्म यो संख्या ११ लाखको हाराहारी पुग्ने अनुमान त्यहाँका स्वास्थ्य विज्ञले गरेका छन । तर संक्रमित मध्ये सक्रिय संक्रमित भने ३ लाख ७३ हजारको हाराहारीमा मात्रै रहेको बताइएको छ । आजसम्म भारतमा निको हुनेको संख्या ६ लाख ७७ हजार ६ सय ३० भन्दा बढी छ । शनिबार एकै दिन २३ हजार पाँच सय ५२ जनाभन्दा बढी निको भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा एकै दिन शनिबार पाँच सय ४३ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोनाबाट २६ हजार ८ सय २८ जनाले ज्यान गुमाएका छन । भारतमा सबैभन्दा बढी प्रभावित महाराष्ट्र राज्य देखिएको छ । यहाँ मात्रै ११ हजार पाँच सयभन्दा बढीले ज्यान गुमाइ सकेका छन ।

विश्वमा कारोना

विश्वभर कोरोनाबाट एक करोड ४४ लाख २४ हजार पाँच सय भन्दा बढी संक्रमित भएका छन । आइतबारसम्म संसारभर ६ लाख ४ हजार ८ सयभन्दा बढीले ज्यान गुमाएका छन । हालसम्म संक्रमितमध्ये विश्वभर ८६ लाख करिब १२ हजार निको भएर घर फर्किएका छन ।

आक्रान्त अमेरिका

संसारभरमै अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । अमेरिकामा कोरोनाबाट करिब १ लाख ४२ हजारभन्दा बढीको ज्यान गइसकेको छ । हालसम्म अमेरिकामा ३७ लाख ७१ हजार भन्दा बढी संक्रमित भएका छन । अमेरिकामा शनिबार एकै दिन ७० हजार संक्रमित र ९ सयको मृत्यु भएको रेकर्ड छ ।