प्रेम दिवस

–कविता–

० लिला अनमोल

म चाहन्छु
तिम्रो मेरो सम्बन्ध
एउटा सामर्थ्यको मैदान होस
जहाँ स्वतन्त्र खेल्न सकु हामी दुई
प्रेमको सुन्दर खेल।

तिमी शालिन आबेग लिएर आउनु मैदानमा
म सुनौलो रहर बोकेर आउनेछु
तिमी आफ्नो दक्षताको प्रदर्शन गर
म उत्साहको तरक्की गर्नेछु
र जितौला हामी दुबैले
समर्पणको एउटा खेल ।

नडुबोस मेरो प्रेम सम्झौताको दहमा
बरु दुर बहेर छलकपट
झुल्किएको होस खुसिको बिहान हामी भित्र
सहज बन्न सकुँ
म तिम्रा हरेक उपस्थितिहरुमा
तिम्रो अँखाबाट बगेको प्रेम
सम्हालेर राख्न सकुँ आफूभित्र
र अपनत्वको आभाष गर्न सकुँ

न उम्रियोस हाम्रो बगैंचामा
प्रतिशोध र दम्भको उकुच
रुमानी सम्झिएर सम्बन्ध
निहथ्था ठुँगेर नहिड्नु तिमी मेरा रहरहरु
यदि यो बिश्वासको फूल फुल्यो भने
म तिम्रो आगोमा
आगो भएर जल्न सक्छु तिमिसँगै
तिमी सागर भएको बेला
बिलिन हुन सक्छु शालिन भएर तिमिभित्रै ।

हामीबीच
एक अर्कामा नगुन्जियोस कहिल्यै
बिद्रोहको प्रलाप
हामीले देख्ने प्रत्येक सपनाहरुमा
समानताको आभाष छरिएकोहोस।

उत्साहको धाजा फाटेर
पुरिउन बिस्मय र त्रासदीहरु
दर्बिलो बनेर हरेकपल
एक आपसको रक्षक बन्न सकुँ ,

नराखेर लेखाजोखा जिन्दगीमा समस्याहरुको
म तिम्रो असहजतामा पनि
उमार्न सकु खुसिहरु
नदेख्न परोस अबिस्वास्को भयानक तस्बिर
र नगर्नुपरोस
हाम्रो सहकार्यमा हिनताबोध ।

नथाकुन कहिलै
हाम्रा सम्बन्धका पदचापहरु
बरु अन्योलताबाट उक्सेर माथि
तागतको उर्जा थप्न सकुँ
कृत्रिमताको शासन तोडेर हाम्रो खुसिमा
आवस्यकताको प्रतीक्षा गर्न सकुँ
पिएर तिम्रो प्रेमको अमृत
म हरेकपल प्रेमदिवस बाँच्न सकुँ ।

(बिर्तामोड झापा)