बीपी कोइराला सानो देशको अग्लो नेता हुनुहुन्थ्योः सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइराला सानो देशको अग्लो व्यक्तित्व भएको दूरदर्शी नेता भएको बताएका छन ।

बीपी कोइरालाको ३८ औं स्मृति दिवसका अवसरमा काँग्रेसको सूचना, संचार तथा प्रचार विभागले जुममार्फत आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले भने, ‘प्रजातान्त्रिक समाजवाद उहाँको विचार आज झनै सान्दर्भिक भएको छ । नेपालले आज हिंड्ने मुलबाटो बीपिकै विचार र विश्वासको बाटो हो ।’

बीपीको बाटो ईमान्दार ढंगले पछ्याएर मात्रै हामीले सम्मान र समृद्धिको लक्ष्य हासिल गर्न सक्ने विचार देउवाले व्यक्त गरे । राष्ट्रमाथि संकट आउँदा आफ्नो जीवन जोखिममा राखेर ०३३ सालमा बीपी स्वदेश फर्किएको सभापति देउवाले स्मरण गरे ।

उनले आज राष्ट्रियताको प्रश्नमा मुलुकमा विशेष छलफल भइरहेका बेला बीपिको विचार र विश्लेषणकै माध्यमबाट हामीले राष्ट्रभित्र राष्ट्रिय एकता र मेलमिलापको भावनाका साथ समाधान पहिल्याउनपर्ने बताए ।

‘साहित्यमा बीपिको फरक ब्यक्तित्व र उचाइँ थियो । अग्रणी साहित्यकार बीपी मनोवैज्ञानिक कथा लेखनमा बेजोड हुनुहुन्थ्यो,’ दउवाले बीपीको साहित्यक पाटोको पनि स्मरण गरे ।

कार्यक्रममा समाजवादी चिन्तक केन्द्रीय सदस्य प्रदिप गिरिले कार्यक्रमका प्रस्तोता डा. सुरेश आचार्य एवं जुममा जोडिएका सहभागीहरुका बीपी विचारसँग केन्द्रित विभिन्न प्रश्नहरूको उत्तर दिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेले जानकारी दिए ।