उपप्रधानमन्त्री पोखरेलले भने : निर्मलाको हत्यारा छिट्टै सार्वजनिक गर्छौं

काठमाडौं । उप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या गर्नेहरु पक्राउ गरिसकेको दावी गरेका छन् ।

‘दशौँ राष्ट्रिय मानव अधिकार महाभेला’ को उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्मलाका हत्यारा पत्ता लागिसकेको छ, नियन्त्रण गरिसकेको छ, हामी चाँडै नै सार्वजनिक गर्छौं, तर राजनीतिक दलको आवरणमा हत्यारा जोगाउन आउने हो कि भन्ने डर छ ।’

निर्मला पन्तको बलात्कार र हत्यारालाई एउटा झण्डा बनाएर सडकमा आउने काम गरिएको भन्दै उनले निर्मलाका हत्यारालाई सार्वजनिक गर्दै गर्दा राजनीतिक रुपमा कसैले पनि छाता ओढाउन नआउनुहोला भने ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आयोग सरकारले दया गरेर दिएको होइन, त्यसैले आयोगले सधैँभरि मावन अधिकारको सङ्घर्षका पक्षमा साथ दिन्छ भने ।

नेपाली काङ्ग्रेसका नेत्री पुष्पा भुषालले जतिसक्दो चाँडो निर्मलाका हत्यारा पत्ता लगाएर सार्वजनिक गर्नुपर्ने माग गरिन् ।

यही मङ्सिर २८ गतेसम्म चल्ने महाभेला अवधिभरि शान्ति, लोकतन्त्र र मानव अधिकारका विषयमा सघन संवाद हुने महाभेलाका संयोजक नरेन्द्र खतिवडाले जानकारी दिए ।