एसपी तामाङको नाता बजारमा

काठमाडौं । पेशाले बन्दुकको निकट रहनु पर्ने भए पनि भावना र सिर्जनाले ओतप्रोत गीतकार एवं एसपी टेक तामाङको चौथो गीति एल्बम बजारमा आएको छ । अनुश्री पाख्रिनको प्रस्तुति रहेको ‘नाता’ विशेष समारोहबीच शुक्रबार सार्वजनिक गरिएको हो ।

नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित समारोहमा सार्वजनिक गरिएको एल्बममा ८ वटा गीत समावेश रहेका छन् । आठवटै गीतमा महिला गायकको आवाज रहनु एल्बमको अर्को विशेषता हो ।

कार्यक्रम साहित्यकार उषा शेरचनको अध्यक्षता तथा बरिष्ठ गीतकार रत्नशमशेर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । समारोहमा एल्बममा समाविष्ट दुई म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । अञ्जु पन्तद्वारा स्वरबद्ध र अभिनित ‘तिमीलाई माया गर्छु….’ र मेलिना राईको स्वर रहेको ‘नजिक यति….’ बोलको भिडियो कार्यक्रममा प्रदर्शन गरिएको थियो ।

भिडियो सार्वजनिकलगत्तै समिक्षक बरिष्ठ गीतकार भुपाल राईले अप्रासंगिक गीतमा अनुप्रास मात्रै मिलाउने परम्परागत ढर्रालाई तोडेर उत्कृष्ट शब्दविम्ब ल्याउन सकेकोमा गीतकारलाई बधाई दिए । उनले भने– ‘सुगम संगीतमै रहेर सामाजिक जागरणका गीतहरू पनि लेखिनुपर्छ ।’

यसैगरी बरिष्ठ साहित्यकार पूर्व अर्थमन्त्री एसपी कोइरालाले साहित्यकै विधाको गीत लेखनलाई निरन्तरता दिएर साहित्यिक इट्टा थपेकोमा कुनै समयका आफ्ना विद्यार्थी तामाङप्रति गर्व गरे ।

सभाध्यक्ष शेरचनले बन्दुक नामैले मात्रै पनि अत्यन्त कठोर लाग्छ उनको गीत भने अत्यन्तै कोमल ! पेशागत हिसाबले नेपाल प्रहरीको एसपी सिर्जनागत हिसाबले गीतकार । एल्बम नातामा सबै नारी स्वर रहेकोमा गर्व गर्दै गायिका पन्तलाई पहिलो पटक अभिनय गराउन सफल भएकोमा गीतकारलाई बधाई दिए ।

समारोहमा बरिष्ठ संगीतकार बुलु मुकारूङ, बरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार संघ नेपालका अध्यक्ष चुडामणि देवकोटा, पूर्व डिआइजी देवीलाल तामाङ, समाजसेवी चन्दा थापा तामाङलगायतले शुभकामना व्यक्त गरे ।

सोहीक्रममा गायिका र संगीतकारलाई प्रस्तुतकर्ता अनुश्रीले सम्मान गरेका थिए । एल्बममा रहेका गीतहरूमा ‘तिमीलाई… स्वर अञ्जु पन्त, संगीत अर्जुन पोखरेल, मन पर्छ… स्वर संगीता राना प्रधान, संगीत किशोर खतिवडा, स्वर्ग सुख…. स्वर मेलिना राई, संगीत कन्काइष्ट राईको रहेका छन् । यसैगरी अंगालोमा बेरिरहुँ… स्वर अञ्जु पन्त, संगीत पावल चाम्लिङ, ढिलो चाँडो… स्वर जिना रसायली र संगीत कन्काइष्ट राई, नजिक यति… मेलिना राई, संगीत कन्काइष्ट राई, झर्न खोज्ने… दिपालामा र संगीत कन्काइष्ट राई र सैलुङकै पाखामा… ओंङ्बु लामा र संगीत बुद्ध स्याङ्बा लामा’को रहेका छन् ।

नेपाल प्रहरीमा कर्तव्यनिष्ठ भएर व्यस्तताको बाबजुत पनि तामाङले राष्ट्रिय, लोक, आधुनिक, लोकपप शैलीका करिब एक हजारभन्दा बढी गीत लेखिसकेका छन् । कार्यक्रम गीतकार विपिन किरणले संचालन गरेकाथिए ।