मदरल्याण्ड युथ कप:पिएफए र सुप–११ पनि सेमिफाईनलमा

कैलाली । फुटबलको उर्वरभुमी मानिने कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ जोनापुरमा जारी मदरल्याण्ड युथ कप २०७५ को सेमिफाईनल समिकरण पुरा भएको छ ।

आज दुईवटा क्वाटरफाईनलका खेल सम्पन्न भएसँगै सेमिफाईनल समिकरण पुरा भएको हो । आजका खेलमा जित हात पार्दै पिएफए अत्तरिया र सुदूरपश्चिम–११ सेमिफाईनलमा पुगेका छन् ।

आज भएको पहिलो खेलमा पिएफए अत्तरियाले चारपाते युवा क्लवलाई ३– १ ले हरायो । पिएफएलाई जिताउन नरेन्द्र रावलले दुई गोल गरे । चारपातेका लागि अजय थापाले पहिलो हाफको १३ औं मिनेटमा एक गोल गरेका थिए ।

आज नै भएको दोस्रो खेलमा सुदुरपश्चिम–११ स्पोर्टस क्लबले नवदुर्गा युवा क्लबलाई टाईब्रेकरमा हरायो । निर्धारित समयमा दुबै टोलीले एक एकको बराबरी खेलेपछि टाईब्रेकरमा सुप–११ ले ३–१ को जित निकाल्यो । आफ्नो टोलीलाई सेमफिाईनल पुराउनका लागि सुप–११ का गोलरक्षक अमानत सेखले तीन वटा पेनाल्टी प्रहार बचाउ गरे ।

प्रतियोगिता अन्तर्गत भोली दुवै सेमिफाईनलका खेल हुनेछन् । पहिलो सेमिफाईनलमा आजका विजयी टोलीहरु पिएफए अत्तरीया र सुदूरपश्चिम ११ तथा दोस्रो सेमिफाईनलमा आयोजक मदरल्याण्ड युवा क्लब र फारवेष्ट पशुपति बीच फाईनल प्रवेशका लागि खेल हुने आयोजक मदरल्याण्ड युवा क्लबका अध्यक्ष श्रवण चौधरीले जानकारी दिए । मदरल्याण्ड युथ क्लबको आयोजनामा सुरु भएको प्रतियोगिता पुस ७ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको विजेताले नगद २ लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् ।