नेपाल आईडल रविले लेखे आमाको अन्तिम विदाईमा भावुक कविता

O अक्षरपाटी विशेष

नेपाल आइडल सिजन -२ का विजेता  रवि ओड आफ्नो खुशी साट्न महेन्द्रनगरमा थिए । बुधबार सम्मान थाप्न उनी महेन्द्रनगरको कार्यक्रममा सरिक हुने गयारीमा थिए । त्यतिनै बेला उनको जीवनमा कहिल्यै आइनलागेको दुःख आइलाग्यो । सुन्ने र देख्नेले पनि भने, ‘दैव पनि कति निष्ठुरी, निमुखाको घरमा आएको खुशी  धित मरुन्जेल साँट्न पाएनन् रविले ।’

बुधबार विहान करेन्ट लागेर रविकी आमा विष्णादेवीको निधनको खबरले रविको मन एकाएक भुँइमा पछारियो । रविको मात्रै होइन उनका आफन्त, सुभचिन्तकदेखि प्राय नेपाली विष्णाको निधनले दुःखी भए । रवि कति दुखे होलान, शब्दमा लेखेर कमी हुन्छ होला ।

आठ वर्षकै उमेरमा जन्मदिने आमाले सदाका लागि छोडेर गए पनि ममता, रेखदेख र स्नेहको कहिल्यै कमी हुन नदिएकी आमा विष्णाले खुशीकै क्षणमा सँगै खुशी नमनाउँदै सदाका लागि छोडेर गएपछि रविले भावुक विदाई सन्देश लेखेका छन् । उनले कवितात्मक शैलीमा आमाको अन्तिम संस्कारको तस्बिरसहित लेखेको भावक सन्देश यस्तो छ  :-

अलिकति के हास्न थाले थेँ
राम्ररी हास्न नपाइ निस्ठुरी दैव तिमीले
मेरो जीवनको खुसी यसरी खोसेर लग्यौ  !!

अब त्यो खुसी कसरी फिर्ता लेराउँछु होला र
मेरो सानो झुपडीमा अब आमाको छिनछिन
चुराको आवाज बज्दैन  !!

म भोकाएर आउँछु होला भनेर आमाले
जस्तै अगेना छेउमा मलार्इ कुरेर कोही बस्दैन  !!

मैले जीवनमा धेरै सपना सजाएको थिएँ
त्यसलाई पाउन आमा तिम्रो साथ
अनि आशीर्वादले केही पाएको थिएँ

तर आज तिमीलाई भन्न नपाई
पापी दैबले हाम्रो घरमा आँखा लगायो

आमाको मुहारको खुसी नियालेर हेर्न नपाई
तिमीलाई हामीबाट यसरी खोसेर लग्यो
तिमी फेरि फर्किएर आउँदैनौ  !!

आमा हजुरजस्तै जीवनमा
निस्वार्थ प्रेम गर्ने व्यक्ति
मेरो जीवनमा कोही आउँदैन !!

यसरी छोडी गयौ आमा हजुरले
म, मेरा दुःख अनि वेदना कसलाई भनु
अब त हाम्रो घरमा हजुर ले जस्तै ममता र स्नेह दिन कोही आउदैन  !! 

(तस्बिर रविको फेसबुकबाट लिइएको हो ।)