हल्लाको पछि नलाग्न कादर खानका परिवारको अपिल

एजेन्सी । बलिउडका चर्चित अभिनेता कादर खानका विषयमा फैलिएका अफवाहका पछि नलाग्न उनको परिवारले अपिल गरेको छ ।
क्यानाडाको एक अस्पतालमा भर्ना गरिएका उनको हालतमा सुधार भने आएको छैन ।

८१ वर्षिय खानलाई भेन्टिलेटरमा राखिएको छ । सास फेर्न समस्या भएपछि अस्पताल पुर्याइएका उनी कोमामा गएका हुन् । डाक्टरका अनुसार उनको स्वास्थ्यअवस्था अझै पनि गम्भिर छ ।

कादर खान छोरा शाहनवाज र बुहारी शाइस्तासँग बस्न क्यानडा गएका थिए । उनी केही समयदेखि प्रोगेसिव सुप्रान्यूक्लीयर पाल्सी डिसअर्डरबाट ग्रसित थिए । जसका कारण उनको दिमागमा असर परेको छ । कादर खानका विषयमा आएका अनेकखाले हल्लालाई उनको परिवारले अफवाह भनेको छ ।

२२ अक्टुबर १९३७ मा काबुलमा जन्मिएका खानले सन् १९७३ मा फिल्म दागमार्फत् बलिउड पाइला टेकेका थिए । बाप नम्बरी बेटा दश नम्बरी, अंगार, हिम्मतवाला, सिक्का, आँखे, मे खिलाडी तु अनाडी, कुली नं १, साजन चले ससुराल, दुल्हे राजालगात चर्चित फिल्ममा काम गरिसकेका खानले हिन्दी र उर्दु गरी २५० फिल्मको लागि डायलग पनि लेखेका छन् ।