नेपाल आइपुगे विश्व भ्रमण यात्री

काठमाडौं । विश्वयात्राका क्रममा डेनमार्कका सी पेडरर्सन थोर नेपाल आइपुगेका छन् । नेपाल उनको १ सय ७९ औँ भ्रमण मुलुक हो । कुनै पनि उडान नगरी स्थल र जलमार्गबाट विश्व भ्रमण गरेर नयाँ इतिहास बनाउने क्रममा उनी नेपाल आइपुगेका हुन् ।

डेनिस रेडक्रसको सद्भावना दूतका रुपमा नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा कुराकानी गर्दै उनले भने, ‘विश्वमा मानिस र मानवताको खास अर्थ फैलाउने मेरो उद्देश्य छ । विश्वको जुनसुकै कुनामा शुरक्षा, शिक्षा, आवास, भोजनलगायतको समस्या छ र आम रुपले मानिसहरुमा समानता मैले देखेको छु ।’

नेपाल भ्रमणका क्रममा उनले विश्व सम्पदा सूचीमा रहेका दरबार क्षेत्रहरुको अवलोकन गर्नुका साथै नेपाल रेडक्रसले सञ्चालन गरेको हटलाईन –११३० कल सेन्टर तथा विपद् व्यवस्थापन आपत्कालीन केन्द्रको पनि अवलोकन गरेका छन् । सी पेडरर्सनले नेपालमा डेनिस रेडक्रसले सञ्चालन गरेका कार्यक्रमको अवलोकन पनि गरेको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए ।

उनले बुधबार नै राष्ट्रिय रक्त सञ्चार सेवा केन्द्र बालकुमारीमा गई रक्तदान समे गरेका थिए । ‘मानिसहरुको नशामा उस्तै रगत बगिरहेको छ र खुशी तथा सन्तुष्टि पाउने एउटा राम्रो तरीका रक्तदान हो’, थोरले भने ।

विश्व यात्राका क्रममा थोरले २ लाख ४३ हजार किलोमिटर पार गरिसकेका छन् । सन् २०१३ बाट सुरुभएको अनवरत यात्राका क्रममा संसारका २०० भन्दा बढी मुलुकको भ्रमण नसकी घर नफर्किने उनले बताए ।