Logo
१५ मंसीर २०७९, बिहीबार

योग्य नागरिक निर्माणमा अभिभावकको गहन भूमिका

अक्षरपाटी
२०७९ मंसीर १४ , बुधबार ०२:११ मा प्रकाशित

O प्रतिमा राई

बालबालिकाको पहिलो पाठशाला घरलाई मानिन्छ। आमाबुवालाई बालबालिकाको पहिलो शिक्षकशिक्षिका भनिन्छ । छोराछोरी ज्ञानी, प्रतिभाशाली र पढैया होऊन् भन्ने चाहना कुन आमाबुवाको नहोला ?

तर चाहना राखेर मात्रै हुँदैन । त्यसलाई साकार बनाउन अभिभावकले हुर्किरहेका नानीबाबुको कत्तिको हेरचाह र ध्यान दिन्छन् भन्ने प्रश्न महत्वपूर्ण र मननीय छ।

संवेदनशील किशोरावस्था

किशोरावस्था जीवनको सबैभन्दा संवेदनशील र महत्वपूर्ण अवस्था हो । १३ देखि १९ वर्षसम्मकालाई किशोरकिशोरी भनिन्छ । यस उमेरमा किशोरकिशोरी स्वयंले आपूmलाई ध्यान दिन आवश्यक हुन्छ । विशेषगरी अभिभावकले पनि किशोरावस्थाका छोराछोरीलाई विशेष ख्याल राख्नु जरुरी हुन्छ । अभिभावकको माया ममता, रेखदेख र उचित मार्गदर्शन भए मात्र किशोरकिशोरी खराब संगत र कुलतबाट जोगिन्छन् । आमाबाबुको विशेष रेखदेखमा हुर्र्किएका किशोरकिशोरी सज्जन र संस्कारी हुन्छन्।

अभिभावकले जति माया, प्रेम, स्नेह र समय दिन्छन्, त्यति नै उनीहरू पनि अभिभावकप्रति कृतज्ञ, आज्ञाकारी, मायालु र उत्तरदायी बन्छन् ।

हरेक किशोरकिशोरीमा कुनै न कुनै प्रतिभा निहित हुन्छ । किशोरावस्थाका छोराछोरीको प्रतिभालाई पहिचान गरी हौसला र बढावा दिने काम अभिभावकले गर्न सक्नुपर्छ । यसो भएमा बेलैमा उनीहरू कतै नअल्मलिकन भविष्यको सही मार्गमा हिँड्न सक्छन् । तर अभिभावकको हेरचाह र निगरानीमा कमी अथवा चाहिनेभन्दा बढी उपदेश, गालीगलौज र आलोचनाजस्ता कुराले किशोरावस्थामा निराशा उत्पन्न हुन्छ।

यसले नकारात्मक भावनाले जरा गाड्न सक्छ । फलस्वरूप अभिभावकप्रति वितृष्णा पैदा हुन्छ । उनीहरूका लागि पारिवारिक सदस्यभन्दा बाहिरको संगत प्यारो र आफ्नो लाग्न थाल्छ । यो अवस्थामा सही संगत पाएमा बिग्रिनबाट जोगिन सक्छन् । खराब संगतले बिग्रिन पनि सक्छन्।

पढाइ छाड्ने, घरबाट भागेर अन्यत्र जाने, रक्सी, चुरोटको सेवन गर्ने र विपरीत लिंगीको सम्बन्धमा परी बरालिने र बहकिने जस्ता क्रियाकलाप गर्न पनि पछि
पर्दैनन् । कतिपय शान्त र भावुक स्वभावका किशोरकिशोरी डिप्रेसनको सिकार बन्न सक्छन्। कोमल र भावुक स्वभावका किशोरकिशोरी अझ धेरै मानसिक समस्याबाट चाहिनेभन्दा बढी प्रताडित हुने गर्छन्।

ससाना कुरामा बढी चिन्ता लिने, पढाइ र परीक्षाका कारण विचलित हुने र अभिभावकले सामान्य गाली गर्दा पनि बढी चित्त दुखाउने खालका हुन्छन् । यस्तो संवेदनशील अवस्था छोराछोरीको मनोविज्ञानलाई अभिभावकले बुझ्न अनिवार्य छ।

यस्ता सानासाना कुरा बुझ्न नसक्दा ठूलो क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्छ । परीक्षामा फेल भएकै कारणले यदाकदा किशोरावस्थाका विद्यार्थीले आफैंलाई क्षति पु¥याएका घटना पनि हामीले देखे, सुनेका छौं।

आफ्ना नानीहरूको सफलतामा रमाउने मात्र होइन, उनीहरू असफल भएको बेला उत्तिकै साथ, सहयोग, माया र हौसला दर्शाउनुपर्छ।

अभिभावक नानीबाबुको लागि सुख र दुःखको साथी बन्नुपर्छ । यसो भएमा उनीहरू खुलेर आफ्ना गल्ती, कमजोरी र समस्या भन्न सक्छन् । जसको समाधान बेलैमा गर्न सकिन्छ । उनीहरू पनि भित्रभित्रै डर, त्रास र भयले कुण्ठित हुनु पर्दैन । जति उनीहरूको नजिकको साथी बन्न सकियो त्यति नै उनीहरूले सुखी र सुरक्षित महसुस गर्छन्।

किशोरावस्था जीवनको निकै संवेदनशील, सबैभन्दा सुन्दर र सुखद अवस्था हो। भविष्य र जिन्दगीको निर्धारण गर्ने समय पनि किशोरावस्था हो। यस अवस्थाको महत्वबारे हरेक अभिभावकले बालबालिकालाई बोध गराएर १० देखि १९ वर्षसम्म रेखदेखमा विशेष ध्यान दिन सक्नुपर्छ।

यसो भएमा उनीहरूले जीवनको महत्व बुझ्ने मौका पाउँछन् । आफू र आफ्नो जिन्दगीप्रतिको जिम्मेवारी बहन गर्न सक्छन्।

धेरैजसो अभिभावक स्कुल पढाएकै छु, कलेज पढाएकै छु, लाउन खान भनेजस्तो दिएकै छु, भनेर ढुक्क हुन्छन् । विद्यार्थीको समग्र व्यक्तित्व विकासका लागि घरपरिवार र अभिभावकको प्रमुख भूमिका हुन्छ।

सन्तानलाई सक्दो असल र प्रतिभाशाली बनाउन अभिभावक जति जिम्मेवार अरू कोही हुनै सक्दैन । जतिसुकै प्रतिभा भए पनि अभिभावकको हौसला र सहयोग बिना त्यो फस्टाउन सक्दैन । मौलाउन सक्दैन।

नवयुवामा भएको प्रतिभालाई प्रस्फुटन गर्न, फलाउन र फुलाउन उपयुक्त पारिवारिक वातावरण पहिलो आवश्यकता हो। साधारण प्रतिभा भएको विद्यार्थीले आफ्ना अभिभावकको माया, हौसला, सहयोग, साथ र मार्गदर्शन पाएमा प्रतिभालाई तिखार्न र चम्काउन ऊ झन् सफल हुन्छ। विशेष प्रतिभा भएको बालक पनि अभिभावकको बेवास्ताले प्रतिभा विकास गर्न असमर्थ हुन्छ।

छोराछोरी असल बनाउने हो भने पहिले आफै असल हुन जरुरी छ । बालबच्चाका लागि आमाबाबु नै नमुना हुन्छन् । नानीहरूले आफ्ना अभिभावकप्रति गर्व गर्न सक्ने अवस्था हामीले नै बनाउनुपर्छ।

कतिपय बालबालिका अभिभावकको पेसाप्रति आकर्षित भई त्यसैलाई करिअर बनाउँछन् । कतिपय डाक्टरका छोराछोरी डाक्टर नै हुन्छन् । इन्जिनियरका छोराछोरी इन्जिनियर नै हुन्छन्। गीत, संगीत, गायन वा कुनै पनि कलाकारका छोराछोरी पनि कुनै न कुनै किसिमले त्यसप्रति आकर्षित भएका हुन्छन्।

अभिभावकले बालबालिकाको रुचि, क्षमता र प्रतिभा चिन्न ढिलाइ गर्नु हुँदैन । उनीहरूको रुचि र प्रतिभा चिन्न उनीहरूसँग घुलमिल हुने, छलफल गर्ने गर्नुपर्छ । उनीहरूको मनोभाव र आकांक्षालाई सक्दो बुझ्ने प्रयास गर्नुपर्छ । पढाइका अतिरिक्त कुन क्षेत्रमा उनीहरूको झुकाव छ, यो जान्न जरुरी हुन्छ।

उनीहरूको प्रतिभाको पहिचान गर्न शिक्षकशिक्षिकाको पनि सहयोग लिन सकिन्छ । कतिपय अभिभावक आफूलाई रुचि नभएको क्षेत्रमा आफ्ना बालबालिकाको रुचि भएमा उनीहरूलाई निरुत्साहित गर्ने गर्छन् । यसो गर्नु राम्रो होइन । बालबालिकाको मौलिक रुचिलाई पनि प्राथमिकता दिनुपर्छ।

कसरी सहयोग गर्ने ?


O बालबालिकाको रुचिलाई बुझेर प्रोत्साहन र सहयोग गर्ने ।

O कोर्सबाहेक अन्य पुस्तक पढ्न प्रोत्साहित गर्ने । उनीहरूको रुचिअनुसार पुस्तक किनिदिने र पढ्ने वातावरण बनाइदिने ।

O कतिपय युवाको गीतसंगीततर्फ प्रगाढ रुचि हुन्छ । अभिभावकले यस कुरालाई बुझेर निरुत्साहित गर्नु हुँदैन । बरु पढाइका साथै उनीहरूको रुचिअनुसार अभ्यास गर्ने मौका दिनुपर्छ।

O जुनसुकै प्रतिभालाई लगन र मेहनतले तिर्खान सके भविष्यमा सम्मानित पेसाका रूपमा अपनाउन सकिन्छ भन्ने बुझ्ने र बुझाउने ।

O किशोरावस्थामा मन दोधारे र अस्थिर हुन्छ । यो उमेरमा शान्त र स्थिर बनेर निर्णय गर्ने क्षमता कम हुने भएकोले अभिभावकले उनीहरूको मनोविज्ञान बुझ्ने प्रयत्न गर्ने । यसो भएमा उनीहरू अनेकौं मानसिक उल्झनबाट बचेर सही समयमा सही निर्णय गर्न सक्ने हुन्छन्।

O खाली समयमा साथीभाइसँग बरालिने चाहना बढी हुन्छ । यसमा अभिभावकले विशेष ख्याल गर्ने र उनीहरूका लागि पनि विशेष समय छुट्ट्याउने ।

O परीक्षा सकेर बसेका छन् भने उनीहरूको रुचिअनुसारको क्षेत्रमा तालिम गराइदिँदा उचित हुन्छ ।

O भविष्यमा के बन्ने वा कुन क्षेत्रमा काम गर्ने, त्यसको निर्धारण गर्ने मौका दिनुपर्छ । यसो भएमा बेलैमा आफ्नो रुचिको क्षेत्रमा लागेर त्यस क्षेत्रमा दक्ष बन्ने मौका पाउँछन् ।

O कतिपय अभिभावक किशोरावस्थाका छोराछोरीलाई चाहिनेभन्दा बढी पैसा दिने गर्छन् । कतिपय चाहिँ चाहिने कामका लागि पनि पैसा दिन कञ्जुस्याइँ गर्छन् । यी दवै तरिका ठीक छैनन् । चाहिनेभन्दा बढी पैसा दिएर फजुल खर्च गर्ने बानीले अभिभावकलाई पनि पिरोल्छ । चाहिएको बेला उनीहरूलाई पकेट खर्च पनि दिने गर्नुपर्छ । यसो भएमा उनीहरू खुसी मात्र हुँदैनन् आभारीसमेत हुन्छन्।

O किशोरास्थामा कतिपय व्यक्तिगत र मनोवैज्ञानिक समस्या हुन सक्छ । यस्ता समस्यालाई अभिभावकले बुझ्ने प्रयास गर्नुपर्छ । उनीहरूलाई पूर्ण सहयोग गर्नुपर्छ।

O आफ्नो प्रतिभालाई परख गर्न वा प्रस्तुत गर्नका लागि कुनै पनि कार्यक्रममा भाग लिने इच्छा प्रकट गरेमा ससम्मान उनीहरूलाई त्यहाँसम्म पुग्न सहयोग गर्नुपर्छ।

यस्ता कुरामा ध्यान दिन सके पक्कै पनि किशोरकिशोरी आफ्नो प्रतिभालाई प्रस्फुटन र विकास गरी सुयोग्य नागरिक बन्न सक्छन् । यसबाट सिंगो समाज नै सभ्य र समुन्नत बन्न सक्छ।

असल अभिभावक किशोरावस्था