Logo
१७ कात्तिक २०८२, आईतबार

बञ्चरेडाँडाको अवरोध खुल्यो, १५ दिनभित्र माग पूरा गर्ने कुलमानको प्रतिबद्धता

अक्षरपाटी
२०८२ कात्तिक १७ , आईतबार ०१:११ मा प्रकाशित

काठमाडौँ । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ ।

आइतबार सहरी विकास मन्त्री कुलमान घिसिङ सहितको टोली बञ्चरेडाँडाका स्थानीय बासिन्दा, जनप्रतिनिधिहरूलाई स्थानीयको माग १५ दिन भित्र पुरा गर्ने प्रतिबद्धता गरेपछि फोहोर फाल्न दिएको ककनी गाउँपालिका ३ नम्बर वडाध्यक्ष घननाथ बजगाँईले जानकारी दिए ।

‘स्थानीयको माग सम्बोधन १५ दिन भित्र भएन भने फोहोर फाल्न रोक्नुस्, तर अहिले नरोक्नुस् भनेर मन्त्रीज्यूले नै भनेपछि हामीले फोहोर फाल्न दिएका हौँ । अहिले रोकिएको गाडीहरू बञ्चरेडाँडामा पुग्न थालिसके ,’ बजगाँइले भने ।

कुलमान घिसिङ सहित आज बिहानै काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ, वातावरण विभाग प्रमुख सरिता राई सहितको टोली बञ्चरेडाँडामा पुगेका थिए ।

ल्याण्डफिल साइट क्षेत्रका प्रभावित स्थानीयले २०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौतामा संघीय सरकार र महानगरपालिकाले उदासीनता देखाएको भन्दै फोहोर फाल्न अवरोध गरेका थिए । शुक्रबार सहरी विकास मन्त्रालयमा छलफल भएपनि निष्कर्ष विहीन हुन पुगेको थियो ।

काठमाडौँ महानगरपालिका सहित उपत्यकाका स्थानीय तहबाट बञ्चरेडाँडामा फोहोर दैनिक १५० गाडी भन्दा धेरै जाने गरेको छ । ल्याण्डफिल साइटबाट नुवाकोटको ककनी गाउँपालिका र बेलकोट गढी नगरपालिका, धादिङको धुनवेशी नगरपालिकाका स्थानीय प्रभावित हुँदै आएका छन् ।

ट्रेन्डिङ ( साप्ताहिक )