Logo
१७ कात्तिक २०८२, आईतबार

थापाथली प्रहरी प्रभाग भत्काउने क्रममा सिडिओको पत्र आएपछि नगर प्रहरी रोकिए

अक्षरपाटी
२०८२ कात्तिक १७ , आईतबार ०२:११ मा प्रकाशित

काठमाडौं । काठमाडौं थापाथलीमा रहेको ट्राफिक प्रहरी प्रभागको भवन भत्काउन पुगेको नगर प्रहरी काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को पत्राचारपछि फर्किएको छ।

आइतबार बिहान महानगर प्रहरीको टोली थापाथलीस्थित ट्राफिक प्रहरी प्रभागमा अनधिकृत रहेको भन्दै भत्काउन पुगेको थियो।

सम्पदा क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचना भत्काउन नगर प्रहरीको टोली त्यहाँ पुगेको काठमाडौं महानगरका डिएसपी पूर्णचन्द्र भट्टले बताएका थिए।

अहिले काठमाडौंका सिडिओ ईश्वरराज पौडेलले प्रहरी प्रभाग स्थानान्तरण गर्न समय लाग्ने हुँदा नभत्काइदिन आग्रह गर्दै पत्राचार गरेपछि नगर प्रहरी पछि हटेको छ।

‘सिडिओबाट स्थानान्तरण गर्न समय लाग्ने हुँदा नभत्काउन आग्रह भएको छ,’ उनले भने, ‘त्यसैले प्रहरी कार्यालय भत्काइएको छैन।’

प्रहरी प्रभाग मात्र नभई महानगरको वडा नम्बर ११ को पुरानो कार्यालय समेत भएको उनले बताए।

‘त्यहाँ महानगरकै भवन समेत छ। वडा नयाँ भवनमा सरेपछि त्यहाँ महिला नगर प्रहरीहरू बसिरहनुभएको छ। अहिले त्यो पनि भत्काएको छैन,’ उनले भने।

ट्राफिक प्रहरी प्रभाग रहेको छेउमा रहेका अन्य संरचना भने भत्काइएको उनले बताए।

‘प्रहरीको भवन भत्काउने भनेपछि मैले नभत्काउन महानगरलाई पत्राचार गरेको हुँ,’ उनले भने, ‘ट्राफिक प्रहरीको मुख्य कार्यालय रामशाहपथ पूरै जलेको अवस्‍था छ। अन्य प्रहरी कार्यालयहरू जलेका र भत्केका छन्। त्यस्तो अवस्थामा भएका ओत लाग्ने संरचना पनि हटायो भने प्रहरीहरू कता गएर बस्छन्। कसरी दैनिक कामकारबाही गर्छने भन्ने उल्लेख गर्दै पत्राचार गरेको थिएँ।’

महानगरले भवन भत्काउन लागेपछि ट्राफिक र प्रहरी तैथान भएका थिए। त्यसपछि महानगरले त्यहाँ रहेका अन्य संरचना भत्काएको थियो।

ट्रेन्डिङ ( साप्ताहिक )