
काठमाडौं । नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले पार्टीका शीर्ष पदाधिकारीमाथि केन्द्रीय समितिलाई बन्धक बनाएको आरोप लगाएका छन् ।
मंगलबार बानेश्वरस्थित पार्टी सचिवालयमा भ्रातृ संगठनका पदाधिकारीसँगको छलफलमा महरले पार्टीको १५ औं महाधिवेशन समयमै सम्पन्न हुन नसक्नुका लागि पदाधिकारी नै जिम्मेवार रहेको बताए । उनले कार्यतालिका सार्वजनिक गर्न ढिलाइ र बारम्बार बैठक स्थगित हुँदा समग्र केन्द्रीय समिति नै निष्क्रिय बनेको दाबी गरे ।
“कार्यतालिका समयमै नआएकाले बारम्बार बैठक स्थगित भइरहेको छ, यसले पूरा केन्द्रीय समितिलाई बन्धक बनाएको अनुभूति भइरहेको छ,” महरले भने ।
उनका अनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक प्रावधान उल्लंघन भएको छ र त्यसको प्रत्यक्ष जिम्मेवारी सभापति, उपसभापति र महामन्त्रीसहितका शीर्ष पाँच पदाधिकारी ‘भी फाइभ’ ले लिनुपर्छ । “विधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्दा र सदस्यता वितरणजस्ता काम समयमा नहुँदा आजको अवस्था सिर्जना भएको हो,” उनले स्पष्ट पारे ।
महरले पार्टीभित्र उठेका विशेष महाधिवेशन, नियमित महाधिवेशन वा अन्य विकल्पसम्बन्धी सुझावहरूलाई संस्थागत गरेर एकीकृत धारणा बनाउनुपर्नेमा जोड दिए । “सबै विचार समूहलाई समेट्दै कांग्रेसलाई बलियो बनाउने दिशामा अघि बढ्न जरुरी छ,” उनले भने ।
उनका अनुसार अहिले कांग्रेस आन्तरिक विवादमा अल्झिनुको सट्टा देशका सामु देखिएका राजनीतिक र आर्थिक चुनौती समाधानमा अग्रसर हुनुपर्ने बेला हो ।
“कांग्रेस देशको सबैभन्दा ठूलो र स्थापित दल हो । त्यसैले सबै दल, सरकार र नयाँ पुस्तासँग संवाद गर्दै मुलुकलाई निकास दिन नेतृत्वदायी भूमिका खेल्नुपर्छ,” महरले बताए ।
उनले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन शान्तिपूर्ण र निष्पक्ष ढंगले सम्पन्न गराउन कांग्रेसले अग्रसरता लिनुपर्ने आवश्यकता पनि औंल्याए ।
नैनसिंह महर


