
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचिवालय सदस्य सन्तोष परियारले पार्टी परित्याग गरेर हिँडेपछि पार्टीका प्रवक्ताले शुभकामना दिएका छन्।
विघटित प्रतिनिधिसभामा रास्वपाको प्रमुख सचेतक समेत रहेका परियारले राजीनामा दिएको जानकारी गराउँदै पार्टी प्रवक्ता मनीष झाले परियारको नयाँ यात्राका लागि शुभकामना समेत दिएका हुन्।
परियारले नयाँ अभियानमा अगाडि बढ्ने भन्दै राजीनामा दिएर हिँडेका हुन। पूर्व सांसद रहेका परियारले रास्वपाका कार्यवाहक सभापति तथा महामन्त्रीलाई राजीनामा पत्र बुझाएर हिँडेका हुन्।
शुक्रबार राजीनामा दिएका परियार यतिबेला माओवादी केन्द्र परित्याग गरेर फरक अभियानमा जोडिएका जनार्दन शर्मासँग छलफलमा रहेको बताइएको छ।
पार्टीमा विशेष महाधिवेशनको माग समेत गरेका परियार नेतृत्व परिवर्तनको बहसमा थिए। यसअघि रास्वपामा केन्द्रीय सदस्य रहेकी प्रभावशाली नेतृ सुमना श्रेष्ठले पनि पार्टी परित्याग गरिसकेकी छन्।
मनिष झा रास्वपा सन्ताेष परियार


