


काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा ‘नाइमा मोबिलिटी एक्स्पो २०२६’ मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
६ दिनसम्म चल्ने एक्स्पोको उद्घाटन प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले गरेका हुन्। एक्स्पोमा ५३ वटा स्वदेशी तथा अन्तर्राष्ट्रिय ब्रान्डको सहभागिता रहेको आयोजकले जनाएको छ।
एक्स्पोमा ४० भन्दा बढी नयाँ प्रकारका सवारीसाधन सार्वजनिक तथा प्रदर्शन हुँदैछ न्।
नाइमा मोबिलिटी एक्स्पो नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।
एक्स्पोमा विद्युतीय कार, ई–स्कुटर, विद्युतीय व्यावसायिक सवारीसाधन तथा नेपालमा पहिलोपटक प्रवेश गरेका विभिन्न ब्रान्डका नयाँ मोडल मुख्य आकर्षणका रूपमा रहेका छन्।
उद्घाटन कार्यक्रममा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक्स्पो सवारीसाधन खरिद–बिक्री गर्ने थलोमा मात्र सीमित नभई समग्र मोबिलिटी इकोसिस्टमलाई एउटै मञ्चमा ल्याउने उद्देश्यले आयोजना गरिएको बताइन्।

उनले नेपालमा पटकपटक परिवर्तन भइरहने नीतिगत व्यवस्थाले व्यवसायीमा अनिश्चितता बढाएको र त्यसले नयाँ लगानी भित्र्याउन चुनौती सिर्जना गरेको बताइन्। उनले निजी क्षेत्र तथा सरोकारवालासँग पर्याप्त छलफल गरेर मात्रै नीतिगत परिवर्तन गर्न सरकारलाई आग्रह गरिन्।
एक्स्पो संयोजक गौरव शारडाका अनुसार यसपटकको प्रदर्शनीमा नयाँ प्रविधि र नयाँ पुस्ताका सवारीसाधनलाई विशेष प्राथमिकता दिइएको छ।
उनका अनुसार एक्स्पोले नेपाली अटोमोबाइल बजारमा विकसित हुँदै गएको विद्युतीय तथा प्रविधिमैत्री मोबिलिटीको अवस्थालाई समेत प्रतिबिम्बित गर्नेछ।
एक्स्पोमा सवारीसाधनसँगै अटोमोबाइल प्रविधि, विद्युतीय मोबिलिटी, चार्जिङ पूर्वाधार तथा भविष्यको यातायात प्रणालीसँग सम्बन्धित गतिविधि र उत्पादनसमेत प्रदर्शनमा राखिएका छन्।
आयोजकका अनुसार एक्स्पोले उपभोक्तालाई एउटै स्थानमा विभिन्न ब्रान्ड र मोडलका सवारीसाधन तथा नयाँ प्रविधिबारे जानकारी लिन अवसर प्रदान गर्नेछ।
नाइमा एक्स्पो

