वर्तमान सरकार कर्मचारी, प्रहरीमा हस्तक्षेप गरिरहेको छः देउवा

पोखरा । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान कम्युनिष्ट सरकार कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप गर्न उद्धत भएको बताएका छन् ।

शनिबार काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन (सङ्घ) गण्डकीको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतका क्षेत्रमा नियन्त्रण गर्न खोजेको बताएका हुन् ।
सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको आशंका व्यक्त गरे ।

सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेनालगायतलाई समेत पार्टीकाप्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको देउवाको भनाइ थियो ।

‘सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ,’ सभापति देउवाले भने, ‘यस्तै हो भने सदनमा मात्र होइन सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।’

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै अवसर पाउँदा पनि सरकारले सदुपयोग गर्न असफल भएको बताए ।