सरकारी संरचनालाई अपाङ्गतामैत्री बनाउन निर्देशन

काठमाडौं । सङ्घीय संसद्, महिला तथा सामाजिक समितिले अब बन्ने सरकारी संरचनालाई अपाङ्गतामैत्री बनाउन शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरबारस्थित समितिको कार्यालयमा आइतबार बसेको समितिको बैठकले सार्वजनिक सेवा प्रवाह गर्ने संरचना अपाङ्गमैत्री हुन नसकेका कारण सरकारी सेवा सुविधा प्राप्त गर्न कठिन भएको भन्दै सरकारले निर्माण गर्ने प्रत्येक संरक्षण अपाङ्गतामैत्री बनाउन प्रत्येक स्थानीय निकायसँग सहकार्य गर्नसमेत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई निर्देशन दिएको छ ।

बैठकले सरकारी संरचना (महाशाखा, शाखा)को नाम, सम्बन्धित महासङ्घ वा संस्था÷सङ्गठनमा समेत अपाङ्गता शब्दलाई परिमार्जन गरी ‘फरक रुपले सवल नागरिक’को प्रयोग गरेर मनोबल÷मनोभावनालाई उच्च बनाउने शब्द र व्यवहार प्रचलन÷प्रयोग गर्न गराउन र प्रचलित कानूनमा समेत सोही शब्द राख्ने व्यवस्था मिलाउन महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्गता महासङ्घलाई निर्देशन दिएको छ ।

अपाङ्गता भन्ने शब्द दुर्बलता वा असक्षम जस्तो आशय दिने भएको तर अपाङ्गता हुँदैमा सम्पूर्णरुपमा असक्षम वा दुर्वल नहुने र विभिन्न अन्तर्राष्ट्रिय अभ्यास एवं सन्धिलेसमेत फरकरुपमा सवल शब्द प्रयोग गर्न उपयुक्त÷वाञ्छनीय भएकाले समितिले निर्देशन दिएको सभापति निरुदेवी पालले जानकारी दिए ।