बाह्र वर्षपछि बाजुराको बेशीसम्मै हिमपात, भीमदत्त राजमार्ग सुचारु

कैलाली । दशकभन्दा बढी सयमपछि बाजुराका बेशीतिरका क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाका हिमाली क्षेत्रमा हिमपात हुने गरे पनि १२ वर्षपछि कर्णाली नदी किनारसम्मै हिमपात भएको हो । २०६३ सालमा कर्णालीको किनारसम्मै हिमपात भएको थियो । त्यसपछि मंगलबार बिहान हिमपात भएको बूढीनन्दा नगरपालिका–१ का स्थानीयवासी जयबहादुर कार्कीले बताए । समुन्द्री सहतदेखि ९५० मिटरको उचाइमा रहेको कर्णाली नदी किनारासम्म हिमपात भएको छ ।

सोमबार रातिबाट लगातार परेको वर्षासँगै हिमपात भएपछि किसान खुशी भएका छन् । हिमपातले खेतीपातीमा लागेका रोग कीरा मर्ने र अन्नबालीलाई फाइदा पुग्ने स्थानीयवासीको भनाइ छ । हिमपातले सडक यातायात प्रभावित भएपछि स्थानीयवासीलाई आवातजावतमा कठिनाइ भएको छ । हिमपातले यहाँका डाँडाकाँडा सेताम्य भएका छन् ।

उता सोमबार रातिदेखि परेको हिमपातले बन्द भएको अत्तरिया –स्याउले जोड्ने भीमदत्त राजमार्ग करिब १४ घन्टापछि पुनःसञ्चालन भएको छ । नेपाली सेना शस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीकोे सहयोगमा राजमार्ग चलेको हो । राजमार्ग सञ्चालनमा आएपछि तराईबाट पहाड तथा पहाडबाट तराई जान हिँडेर सोमबार रातिदेखि अलपत्र परेका सवारी साधन गन्तव्यतिर जान थालेको डडेल्धुराका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए ।

सडक डिभिजन कार्यालयको डोजर, सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा करीब आठ नौ घण्टापछि राजमार्ग खुलाइएको हो । बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातयात सोमवारदेखि ठप्प थियो । करीब दुई फिट जति हिउँ जमेकाले राजमार्ग खुलाउन निकै समय लागेको प्रहरीले जनाएको छ । हिमपातले बैतडीको खोडपे क्षेत्रलगायतका गाउँ सेताम्य भएका छन् ।