निषेधाज्ञा !

० विनिता आचार्य

सबेरै भाले बास्यो
चराचुरुङ्गीले आफ्नै गीत गाए
केही बेरमा सुर्योदय भयो
घर्तीका फूलहरु मुस्कुराए
पात र दुबोका शीतहरु टिल्पिलाए !

सिर्सिर बतास डुलेकै छ
समय मन्द मन्द चलेकै छ
प्रकृति शान्त छ
आकाश खुलेको छ
धर्ती रमेको छ
सबै उस्तै उस्तै छन्

तर,
मान्छेहरू फरक भए
मान्छेहरूले हिंड्न् बिर्सिनुपर्छ
मान्छेहरूले मिल्न बिर्सनुपर्छ
आफन्त सङ्गै भेट्न हच्कनुपर्छ
सामाजिक बन्नबाट बच्नुपर्छ !

एक्लै एक्लै बस्नुपर्ने
मान्छेबाटै परपर सर्नुपर्ने
कहिलेसम्म होला खै यस्तो
आफ्ना सङ्ग भेट्न पनि डर्नुपर्ने !

यस्तैबीच दयामाया सद्भाव नहराओस
सकेजती सहयोग गर्न मन नडराओस
कोरोनाको रूपको तुफान नथामिएसम्म
मान्छे भित्रको मानवता नडग्मगाओस !

सुरक्षित बसौं
नियमले भने झैं गरौं
कोरोनाको लागि आफूले
आफ्नो नियम बनाएकै छौं

किनकि निषेधाज्ञा छ

–काठमाडौं