प्रधानमन्त्रीले पाएनन विश्वासको मत, खनाल र नेपाल समूहका सांसद अनुपस्थित

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओेलीले संविधानानुसार आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न प्रस्तुत गरेको प्रस्ताव अस्वीकृत भएको छ।

प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा उक्त प्रस्तावमाथि भएको मत विभाजनमा प्रधानमन्त्रीको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको थियो।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले विश्वासको मतका लागि आवश्यक बहुमत नपुगेकाले प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका थिए।

त्यस्तै हुन्न भन्ने पक्षमा १५ सांसदले मतदान गरेका थिए। बैठकमा २३२ सांसद उपस्थित भएको सभामुख सापकोटाले जानकारी दिए।

विश्वासको मतका पक्षमा सत्तारुढ दल नेकपा (एमाले) लाई अन्य दलले सहयोग नगरेका कारण प्रस्ताव अस्वीकृत भएको हो। एमाले संसदीय दलको निर्देशनलाई अवज्ञा गर्दै एमालेकै वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसद मतदानमा अनुपस्थित रहेका कारण पनि विश्वासको मतका पक्षमा कम मत जाहेर भएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्रप्रसाद लिङ्देन पनि कोभिड सङ्क्रमणका कारण अनुपस्थित भएका थिए।

प्रस्तावका विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) ले मतदान गरेका थिए।

जनता समाजवादी पार्टी नेपालका केही सांसद तटस्थ रहेको तथा केहीले विपक्षमा मतदान गरेका थिए। मत विभाजनका लागि हुन्छ, हुन्न र दिन्न भन्ने तीन तरिका व्यवस्था गरिएको थियो।

प्रधानमन्त्रीको विश्वासको प्रस्ताव पारित हुन हाल संसद्मा कायम रहेको २७१ सदस्यमध्ये बहुमत अर्थात् १३६ मत आवश्यक पथ्र्यो। मत बराबर भएका खण्डमा सभामुखले निर्णायक मत दिन सक्ने व्यवस्था छ।

प्रस्तावमा सभामुखबाहेक २६६ सांसदले मत जाहेर गर्न सक्ने अधिकार थियो।

एमालेका १२१, माओवादी केन्द्रका ४८, कांग्रेसका ६१, जसपाका ३२ तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राप्रपा र स्वतन्त्र एक सांसदलाई मताधिकार थियो।

प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ३० गते अपराह्न १ बजे बस्ने छ।