खप्तड जोड्ने सडकमा कालोपत्र हुँदै

डोटी। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा कालोपत्रको काम शुरु गरिएको छ।

सो सडक कालोपत्रका लागि सुदूरपश्चिम प्रदेश सरकारले बजेट विनियोजन गरी काम शुरु गरेसँगै अहिले कालोपत्र गर्ने काम धममाधम भइरहेको छ।

अहिले सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्मको पहिलो ठेक्काअन्तर्गतको सडक कालोपत्रको काम शुरु गरिएको इञ्जिनीयर राजेन्द्र चौधरी बताए।

उनले भने, ‘सिलगढीबाट ओखरबोट हुँदै ओसाइल–बगलेकसम्म कालोपत्र काम शुरु भएको छ, बाँकी काम पनि चाँडै शुरु हुनेछ।’

सिलगढीबाट झिग्रानासम्मको सडक निर्माणको काम दुई चरणमा सम्झौता भएको छ। पहिलो चरणको ठेक्काअन्तर्गत करिब ७.३५ किमी रहेको उक्त सडकको ६५ प्रतिशत काम सम्पन्न भएको इञ्जिनीयर चौधरीले जानकारी दिए।

खप्तड जोड्ने सिलगढी–झिग्राना सडकमा १५.६ किलोमिटर कालोपत्र गर्न ४० करोड ठेक्का सम्झौता भएको छ। यो निर्माणको जिम्मा सिएबी कन्स्ट्रक्सन प्रालि जावलाखेल ललितपुरले लिएसँगै कामले तीव्रता पाएको स्थानीयवासी सिद्धराज जोशीले बताए।

उनले भने, ‘खप्तड जोड्ने सडकको कामले तीव्रता पाएको छ, समयमै काम सकिए अब खप्तड पुग्न पर्यटकलाई निकै सहज हुनेछ।’