कारोना संक्रमणबाट एकै दिन २२५ जनाको निधन, पाँच हजारभन्दा बढीले जिते कोरोना

काठमाडौं। कोरोना संक्रमणबाट एकै दिन नेपालमा दुई सय २५ जनाले ज्यान गुमाएका छन्।

महामारीको दोस्रो लहरसँगै एकै दिन यो सबैभन्दा बढी मृतकको संख्या हो। सोमबार २४ घन्टामा ज्यान गुमाउनेको संख्या १३९ जना पुष्टि भएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपाली सेनाले २२५ जनाको शव व्यवस्थापन गरेको हो। योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको छ।

२४ घण्टामा गरिएको २१ हजार ३१६ नमुना परीक्षणमा नौ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ। योसँगै मंगलबार देशभर सक्रिय संक्रमितको संख्या ९७ हजार ८ पुगेको छ।

तींमध्ये होम आइसोलेसनमा ८९ हजार ९१४ र संस्थागत आइसोलेसनमा सात हजार ९४ जना छन्। संक्रमितमध्ये एक हजार ८४ जना आईसीयूमा र २९० जना भेन्टिलेटरमा उपचार गराइरहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाँच हजार २२५ जनाले कोरोना संक्रमण जितेर घर फर्किर्एका छन्।

मंगलबार सबैभन्दा बढी काठमाडौं जिल्लामा संक्रमित देखिएका छन्। काठमाडौंमा दुई हजार ७८८, रूपन्देहीमा ७०९, ललितपुरमा ६०२, भक्तपुरमा ५३७ र बाँकेमा ५०६ जना कोरोना संक्रमित थपिएका छन्। सयभन्दा बढी संक्रमित भएका जिल्लामा कास्कीमा ३७०, मोरङमा ३५०, कैलालीमा २९५, दाङमा २६५, झापा र सुर्खेतमा २६४–२६४ जना, सुनसरीमा १७४, धनुषामा १६५, काभ्रेपलाञ्चोकमा १५५, चितवनमा १२४, कपिलवस्तुमा ११७, मकवानपुरमा ११६, धादिङमा ११५ र पर्सामा ११३ जना कोरोना संक्रमति थपिएका छन्।