दोस्रो लहरको महिनादिनपछि दुई हजार ‘हाइ डिपेन्डेन्सी युनिट’ बेड थप्ने सरकारको तयारी

काठमाडौं। कोरोना महामारीको दोस्रो लहर कहरकै रुपमा फैलिएको छ। परीक्षण भएका मध्ये आधाभन्दा बढीलाई संक्रमण देखिन थालेको छ।

नेपालमा एकै दिन १० हजारको हाराहारीमा संंक्रमित पुष्टि भइरहेको छ भने पछिल्लोपटक २२५ जनाको एकै दिन मृत्यु भएको छ।

अवस्था जटिल बन्दै गएपनि अस्पतालमा उपचार नपाउनेको संख्या बढ्दै गएको छ। दोस्रो लहर तीव्र बन्दै गएको एक महिना हुँदा पनि सरकारले भने तीव्र गतिमा यसको उपचार र रोकथामका लागि युद्धस्तरमा गर्नुपर्ने काम भने गर्न नसकेको सत्य लुकेको छैन।

पछिल्लोपटक त झन विरामीले अक्सिजन नपाएरै ज्यान गुमाउनुपर्ने अवस्था आएको छ।

यद्यपित सरकारी अधिकारी र निकायले भने अस्पतालमा बेढको अभाव भएको कुरा सत्य नभएको, अक्सिजनको यथोचित वितरण भइरहेको दावी गरेका छन्।

अवस्था भने पीसीआर परीक्षण किट समेत नभएर परीक्षण रोक्नुपर्ने अवस्था छ। सरकारले यतिका दिनसम्म पनि एउटा नयाँ अस्सिजन प्लान्ट जडान गरेको खबर बाहिरिएको छैन।

यद्यपित केही सकारात्मक समाचार पनि आउन थालेका छन्। मंगलबार मात्रै सरकारले चीनबाट अनुदानमा प्राप्त चार सय अक्सिजन सिलिण्डर आयात गरेको छ।

त्यस्तै सरकारले थप २ हजार वटा ‘हाइ डिपेन्डेन्सी युनिट’ बेड थप्ने तयारी गरेको छ। बेड थप गर्नका लागि अर्थ मन्त्रालयसँग ढिलै भए पनि सहमति भएको छ।

गत वर्ष मन्त्रालयले २ हजार हाइ डिपेन्डेन्सी युनिट बेड थप गर्ने भनेकोमा एक हजार ५५५ वटा सञ्चालनमा ल्याएको बताएको छ।

दिनकै कोरोना संक्रमितहरू बढ्न थालेपछि मन्त्रालयले बेड थप्ने निर्णय गरेको हो। जटिल संक्रमितहरूलाई आर्इसियू नपाइएको अवस्थामा उक्त बडमा उपचार गरिने गरेको छ।