वर्ल्डलिङ्कका निर्देशक जलानको कोरोनाका कारण निधन

काठमाडौं। ठूलोमध्येको एक इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिङ्क कम्युनिकेसन लिमिटेडका सहसंस्थापक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणका कारण निधन भएको छ।

४६ वर्षीय जलानको मेडिसिटी अस्पताल ललितपुरमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको हो।

१८ वैशाखमा अस्पताल भर्ना भएका उनको स्वास्थ्य अवस्था पछिल्लो समय सुधारोन्मुख रहेको अस्पतालले जनाएको थियो। बुधबार बेलुकी भेन्टेलेटरबाट बाहिर निकालिएका उनलाई केही असहज भएपछि पुनः भेन्टिलेटरमै सारिएको थियो। जलानको आज बिहान अचानक मृत्यु भएको हो।
वैशाख १५ गते नर्भिक हस्टिलमा परीक्षण गराउँदा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो।

इन्टरनेट सेवाप्रदायक संघ नेपाल (आइस्पान) का वरिष्ठ सल्लाहकार तथा कार्यकारी सदस्य रहेका जलान वर्ल्डलिङ्कका अध्यक्ष दीलिप अग्रवालका मामाका छोरा हुन्। उनी कम्पनीको व्यवस्थापकीय जिम्मेवारी सम्हाल्दै आएका थिए। उनका श्रीमती र एक छोरा छन्।